प्रधानमन्त्री कार्कीले रियल जेनजी चिनेको छैन भन्नु हाँस्यास्पद : अध्यक्ष साह
काठमाडौं । आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको शनिबार काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेनजी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेनजीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, तर असली (रियल) जेनजी अगुवा को हो ? मैले चिनेको छैन भनेर बोल्नुहुन्छ, उहाँको अभिव्यक्ति हाँस्यास्पद त हो नै, त्यो भन्दा पनि बढि आपत्तिजनक छ ।’ साहले अगाडि भने, ‘तपाईं कसको आन्दोलनको बलमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ, म सोध्न चाहन्छु । रियल जेनजीहरु तपाईंले नचिन्ने अनि प्रधानमन्त्रीको दाबी गर्न शीतलनिवास एक महिनाअघि कसरी जानुभयो ? आन्दोलन कसको थियो भन्ने थाहा थिएन र ?’ साहले बास्तविक जेनजी नचिन्ने प्रधानमन्त्री कार्कीलाई जनताले भोलि ‘डुप्लिकेट–प्रधानमन्त्री’को संज्ञा दिने टिप्पणी समेत गरे । साहले वर्तमान सरकारले तोकिएकै मितिमा चुनाव गराउन सक्नेमा आशंकासमेत व्यक्त गरे । उनले अहिलेको सरकार वजनदार नभएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले अँध्यारो कोठाबाट शासन–सत्ता चलाउन सुरु गरेको उनको आरोप छ । उनले भने, ‘सुशीला सरकार वजनदार देखिएन, अँध्यारो कोठाबाट शासन–सत्ता चलाउने कुरा हामीलाई अस्विकार्य छ ।’ साहले अदालतमा बेञ्च चलाएजस्तो देश चलाउन सजिलो नहुने पनि प्रधानमन्त्रीलाई सुझाए । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री कार्कीले देशलाई सही निकास दिनकोलागि गम्भिरता नदेखाएको उनको गुनासो छ । उनले आफूले बोलाउनुपर्ने सर्वदलीय बैठक शीतलनिवासको भर परेकोमा भन्दै आलोचना गरे । जेनजी आन्दोलनअघि र आन्दोलनपछि पनि संघर्षको मैदानमा रहेका निर्णायक शक्तिहरुलाई सर्वदलीय बैठकमा बेवास्ता र बाईपास गरेकोमा साहको आपत्ति थियो । उनले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा पनि प्रश्न उठाए । चुनावको वातावरण बनाउने नाममा दलहरुलाई मात्रै रातो कार्पेट ओछ्याउने काम गरिएको र आन्दोलनको प्रमुख हिस्सा जेनजी आन्दोलनका अगुवालाई बेवास्ता गरिएकोमा साहको गम्भीर असहमति छ ।
उनले भने, ‘दलहरुसँग एकदिन र जेनजीहरुसँग अर्को दिन छलफल गरेर राष्ट्रपति रामचन्द्र पौडेलले के सन्देश दिन खोज्नुभएको हो रु’ उनले अहिलेको गृह प्रशासनको नेतृत्वको कारण सरकार असफलताको बाटोमा अघि बढेको आरोप लगाए । जेनजी आन्दोलनपछि प्रहरीको नुर निहुरिएको साहको टिप्पणी छ । उनले आन्दोलनको नाममा सुरक्षा निकायबाट लुटिएका हातहतियार अहिलेसम्म किन फिर्ता ल्याउन नसकेको भनेर गृहमन्त्रीलाई सोधे । उनले भने, ‘लुटिएको हतियार फिर्ता गर्न महिनौं लाग्ने सरकारले फागुन २१ गते चुनाव गर्न सक्ला र रु यो सरकारको क्षमतामाथि प्रश्न उठिसक्यो ।’ साहले देश यतिवेला संकटको ठूलो भूमरीमा फसकेको बताए । जनता जनविद्रोहको जितको उत्सवमा भएपनि केही दिन यताबाट सरकारकै कारण अहिले निराश बन्न थालेको उनको भनाइ छ । साहले प्रधानमन्त्री कार्कीले महिनौंसम्म आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रश्न उठाए । साहले अबको मुख्य निकासको बाटो भनेको यही व्यवस्था र यही संविधान कायम राखेर अघि बढ्दा देश झनै ठूलो भड्खालोमा जाने भन्दै अन्तरिम संविधान बनाएर जानुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको निकास अन्तरिम सरकारसँगै अब अन्तरिम संविधान हो । जनविद्रोहलाई संस्थागत गर्न एकपटक देशभक्त, न्यायप्रेमी र परिवर्तन चाहने अग्रगामी शक्तिहरुको निर्णायक संघर्ष आवश्यक छ ।’ सो क्रममा उनले आम जनता पार्टीले स्थापनाको छोटो समयमा नै श्रेष्ठता हाँसिल गरेको दाबी गरे ।