जेन-जीका नाममा दोहन सुरु, निजी क्षेत्रलाई थप त्रसित
काठमाण्डौं । सामान्यतः आन्दोलन वा युद्धमा जित्तेहरूले सानोतिनो उपद्रो गर्ने गरेका हुन्छन् । यस प्रवृत्तिलाई रामायणको एउटा प्रसङ्गमा रोचकढङ्गले वर्णन गरिएको छ । नेपालमा पनि यस्तो प्रवृत्ति आन्दोलनपछि देखिने गरेको पाइन्छ । यसपटक भने यो ‘वानर सेना’ प्रवृत्तिले सीमा नाघ्न लागेको सङ्केत प्रकट भएको छ । आफूलाई जेन(जी भन्नेहरूको एउटा समूहले १० प्रतिशत सेयर नदिएसम्म भोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गर्न नदिने धम्की दिएपछि आयोजना बन्द गरिएको छ । सिन्धुपाल्चोकका अरू आयोजनामा पनि यस्तै धम्की पत्र पठाइएपछि आयोजनाका सञ्चालकहरू त्रसित बनेका छन् । सरकारले सुरक्षा दिन नसकेको उनीहरूको गुनासो छ । भाटभटेनी सुपरस्टोरका शाखाहरूलगायत देशका प्रतिष्ठित उद्योगी व्यवसायीको निजी सम्पत्तिमा जेन-जी आन्दोलनका नाममा भएको लुटपाट र तोडफोडका कारण देशका सबै उद्यमी व्यवसायीहरू यसै संत्रस्त छन् । उता गृह मन्त्रालयले सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, तोडफोड र आगजनी गर्नेहरूमाथि कारबाही नगर्न परिपत्र गरेपछि उद्यमी व्यवसायीहरूको यसै मन मरेको थियो । त्यसमाथि यसरी आयोजनाहरूमा जेन(जीकै नाममा धम्की दिएर ‘दोहन’ गर्न थालिएपछि देशको अर्थतन्त्र थप ऋणात्मक हुने निश्चितै छ । साथै, यस्तो अवस्था धेरै समय रहेमा वैदेशिक लगानी त सपना नै हुनेछ देशकै निजी क्षेत्रले पनि लगानी गर्ने आँट गर्नेछैन । अर्थात्, मुलुक बर्बाद गराउन अरू उपाय अपनाउनै परोइन । यसैले सरकारले र कतै जेन९जीका नाममा आन्दोलन आह्वान गर्ने समूहका नेता पनि छन् भने तिनले मौका छोेपेर यसरी दोहन गर्ने गिरोहलाई बेलैमा नियन्त्रण गर्नुपर्छ ।
अहिले जलविद्युत् आयोजनामा सित्तैमा सेयर खोज्नेहरूलाई नियन्त्रण गरिएन भने भोलिका दिनमा अरू उद्योग र व्यवसायमा पनि सेयर माग्न थाल्नेछन् । त्यतिबेला स्थिति नियन्त्रण गर्न नसकिने गरी भयावह हुनेछ । सम्भवतः लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई ‘उन्मुक्ति’ दिएको अर्थ लाग्ने गरी गृह मन्त्रालयले परिपत्र नगरेको भए पछिल्ला वितण्डाहरू मच्चिने थिएनन् । यसैले अब मन्त्रिपरिषद्ले नै दण्डहीनता सह्य नहुने र निजी सम्पत्तिको पनि रक्षा गर्ने कर्तव्यबाट राज्य नचुक्ने विश्वास जनतालाई दिलाउनु पर्छ । यसभन्दा पहिले २०६२।६३ पछि तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को भातृ संगठन ‘योङग कम्युनिस्ट लिग (वाईसीएल)’ यस्तै गतिविधिमा संलग्न हुँदा तत्कालीन सरकारले नियन्त्रण गर्न हिचकिचाउँदा भएको हानि स्मरणीय छ । त्यतिबेला दण्डहीनता र अराजकताले अन्ततः वाईसीएल शब्द नै बदनाम हुन पुगेको थियो । जेन९जी अगुवाहरूले पनि यस्ता विकृति बेलैमा नरोक्ने हो भने उनीहरू राजनीतिक दलका भातृ संगठनहरूभन्दा पनि बढी बदनाम हुनेछन् । यसले परिवर्तनप्रति नै जनतामा अविश्वास र वितृष्णा उत्पन्न गराउनेछ । यसैले पनि यस्ता दोहनलगायतका विकृतिहरू तत्काल अन्त्य गर्न जेन-जी अगुवाले सरकारलाई दबाब र सहयोग दुवै दिनुपर्छ ।