देउवाले केन्द्रीय समितिलाई ‘सर्वाधिकार’ सुम्पने तयारीमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिलाई सर्वाधिकार सुम्पने तयारी गरेका छन् । जेनजी आन्दोलनमा आक्रमणमा परेर अस्पताल भर्ना भएयता देउवा दम्पती सार्वजनिक भएको छैन । असोज २ गते अस्पतालबाट डिस्चार्ज भएका उनीहरू चिकित्सकको निगरानीमा रहेको उनको निजी सचिवालयले जनाएको छ । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार, देउवा असोज २८ गतेको केन्द्रीय समिति बैठकमा उपस्थित हुनेछन् । सभापति देउवाले पार्टीको भविष्य सुनिश्चित गर्ने जिम्मा केन्द्रीय समितिलाई नै दिने गरी तयारी गरेका छन् । सभापति देउवाले नै केन्द्रीय समितिमा पेस गर्ने एजेन्डामा सहमति जुटाउन बैठक असोज २६ गतेबाट २८ गतेका लागि सारेका हुन् । उनले पार्टीका उपसभापति र महामन्त्रीलाई बैठकमा लैजाने मुद्दाका विषयमा छलफल गरेर साझा सहमति खोज्न निर्देशन दिएका छन् । उपसभापति पूर्णबहादुर खड्का नियमित सम्पर्कमा हुनुहुन्छ । उहाँहरू (पदाधिकारीहरू) लाई बैठकमा लैजाने एजेन्डामा सहमति गर्न भन्नुभएको छ,स्वकीय सचिव देउवाले भने, सहमतिकै लागि आजका लागि बोलाइएको बैठक २८ गतेलाई सारिएको हो । स्रोतका अनुसार, शनिबार सभापति देउवालाई कांग्रेस नेता शेखर कोइरालाले भेटेका थिए । भेटमा उनले कांग्रेसमा विभाजित मत हुँदा पार्टी र देश दुवैलाई हित नगर्ने भएकाले साझा निकासका लागि पहल गर्न आग्रह गरेका थिए । देउवाले पनि पार्टीमा फरकफरक मत हुँदा थप समस्या निम्त्याउने भएकाले साझा धारणा निर्माणका लागि पदाधिकारीलाई आग्रह गरेको बताएका थिए । उनले साझा धारणा नबनेमा उचित निकासबारे आफूले सोच्ने बताएका थिए ।
जवाफमा कोइरालाले साझा सहमति भए उत्तम विकल्प हुने बताएका थिए । उनले साझा सहमति नभए आफैँले मार्गनिर्देशन गर्ने बाटो रोज्न देउवालाई आग्रह गरेका थिए । नेता कोइरालाले देउवालाई तत्काल नियमित महाधिवेशनमा जान, कार्यवाहक तोकेर महाधिवेशनको जिम्मेवारी दिन वा वर्तमान कार्यसमिति नै विघटित गरी सानो आकारको महाधिवेशन आयोजक समिति बनाउन आग्रह गरेका थिए । तर, तल्लो तहदेखि अधिवेशनमार्फत पार्टीलाई पुनर्ताजगी दिँदै पार्टीमा ऊर्जा फर्काउन आवश्यक रहेको उनको भनाइ थियो । पदाधिकारीहरूले साझा प्रस्ताव तयार पारे देउवाले त्यसअनुसार अघि बढ्न आग्रह गर्ने तयारी गरेका छन् । यदि त्यस्तो नभएमा केन्द्रीय समितिलाई नै निर्णयको सर्वाधिकार सुम्पने तयारी उनले गरेका छन् । देउवा निकट नेता गोपालमान श्रेष्ठ देउवाले पार्टी बैठकमा उपस्थित भएर छोटो सम्बोधनसहित मार्गनिर्देश गर्ने बताउँछन् । देउवाले आवश्यक निर्णयका लागि केन्द्रीय समितिलाई नै सर्वाधिकार सुम्पने तयारी गरेका छन् । उहाँ बैठकमा आउनुहुनेछ ।
आफ्ना भनाइहरू राखेर पार्टीलाई एक ढिक्क बनाएर अघि बढ्ने सन्देश दिनुहुनेछ । र, पार्टीलाई कसरी अघि बढाउने भन्ने निर्णयको सर्वाधिकार केन्द्रीय समितिलाई नै सुम्पनुहुनेछ,” श्रेष्ठले भने, “त्यसपछि बैठक सञ्चालन गर्नु भनेर उहाँ निस्कनुहुन्छ जस्तो लाग्छ । अझै पनि स्वास्थ्य अवस्था पूर्णरूपमा ठिक भइनसकेकाले पूरै समय बैठकमा नबस्ने उनको भनाइ छ । महामन्त्री विश्वप्रकाश शर्माले यही असोज २२ गते सभापति देउवालाई पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नआउन आग्रह गरेका थिए । उनले अझै पनि वातावरण ठिक नभएको भन्दै सार्वजनिक नहुन आग्रह गरेका थिए । त्यही कारण होटल हिमालयमा बस्ने गरी डाकिएको बैठक देउवा अनुपस्थित हुने भएपछि पार्टी कार्यालय सानेपा सारिएको थियो । आगामी केन्द्रीय समिति बैठक भने सानेपास्थित आगलागी भएको कार्यलयमै राखिएको छ । केन्द्रीय कार्यालयको पहिले चियापान आयोजना गर्दा धेरै मानिसले एकैपटक चियाखाजा खान पुग्ने गरी बनाएको भुइँतलाको हलमा व्यवस्थापन गरिएको छ । त्यहाँको सरसफाइ सकेर बाहिरबाटै मगाएर कुर्सी राख्ने तयारी असोज २४ गते नै भएको थियो । कांग्रेसको कार्यालयमा जेनजी आन्दोलनका क्रममा भदौ २४ मा आगजनी हुँदा ‘साउन्डप्रुफ’ राखेर बनाइएको मूल हल जलेर नष्ट भएको थियो । लाइब्रेरी, कम्प्युटर, कुर्सी तथा नेताका कार्यकक्ष पूरै तोडफोड तथा आगजनी भएको छ । दोस्रो तलाको सानो हल नजलेका कारण पदाधिकारी पूर्वपदाधिकारी र कार्यसम्पादन समितिको बैठक भने त्यही हलमा बसेका थिए । केन्द्रीय समितिको बैठकमा सदस्यहरूलाई बस्न नपुग्ने भएपछि भुइँतलामा व्यवस्था गर्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ ।