कांग्रेस जिल्ला सभापतिले नियमित महाधिवेशनका लागि दबाब दिन भेला बोलाउँदै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरू पार्टीको नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको पदाधिकारी, पूर्वपदाधिकारीहरूको परामर्श छलफलमा विशेष महाधिवेशनको मुद्दा उठिरहेका बेला नेता शेखर कोइरालानिकट जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा देखिएका हुन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर सक्रिय रहेका बेला जिल्ला सभापतिहरूले केन्द्रको मात्र नेतृत्व परिर्वतनको विपक्षमा उभिएका छन् ।

जिल्ला सभापतिहरूले तत्काल सबै जिल्ला सभापतिहरू भेला बोलाएर नियमित महाधिवेशनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिलाई दबाब दिने भएका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू रामनाथ अधिकारी (धादिङ), महेन्द्रध्वज जीसी (नवलपुर), तेजेन्द्र खनाल (ओखलढुंगा), बुद्ध लामा (मकवानपुर), रूपनारायण जबेगु (पाँचथर), बर्मा लामा (दोलखा), रमेशकुमार महत (नुवाकोट) र डिकबहादुर लिम्बु (मोरङ)ले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने उनीहरूको बुझाइ छ । त्यस्तै, महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पक्षमा रहेका जिल्ला सभापतिहरूले भेलापछि पार्टीको विधान संशोधनसहितका विषय समेटेर सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी भएको एक जिल्ला सभापतिले जानकारी दिए ।

जिल्ला सभापतिहरूसँग समन्वयका लागि उनीहरू जिल्ला सभापतिले प्रदेशअनुसार कार्यविभाजनसमेत गरेको ती जिल्ला सभापतिले जानकारी दिए । अधिकांश जिल्ला सभापतिहरू नियमित महाधिवेशनको पक्षमा रहेको ती सभापतिले जानकारी दिए । नेता शेखरसहितका नेताहरू छिटो र छोटो प्रक्रियाबाट नियमित महाधिवेशनको पक्षमा छन् भने महामन्त्रीद्वय थापा र शर्मा विशेष महाधिवेशनको पक्ष उभिएका छन् । सभापति देउवासहितका संस्थापन पक्षका नेताहरू विशेष महाधिवेशनले पार्टी विभाजन हुने र तत्काल महाधिवेशन पनि सम्भव नरहेको जिकिर गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *