जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने
काठमाडौं । जेनजी आन्दोलनका घाइतेको उपचार खर्च बैंकहरूले सीएसआरबाट बेहोर्ने भएका छन् । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलनमा घाइतेको उपचारमा खर्च गर्न पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै बैंकहरुले सीएसआरको पैसा जेनजी आन्दोलनको घाइतेको उपचारमा खर्च गर्न पाउने व्यवस्था गरेको हो । मार्गदर्शनको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न सकिने क्षेत्रको सूचीमा जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च सामेल गरिएको हो । यसैगरी जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि सीएसआरको रुपमा गणना गर्न पाइने भएको छ ।