भित्र्याइँदै लक्ष्मी
काठमाण्डौं । आज लक्ष्मी पूजा। घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना गर्दै लक्ष्मीको पूजा गरिएको छ। ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिएको छ।

सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस्तै कार्यालयहरू पनि सरसफाइ गरी लक्ष्मी भित्र्याउने गरिन्छ।