लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका निम्ति सरकारसँग आग्रह गरेको छ । महासंघले ती घटनामा संलग्नविरुद्ध जाहेरी नै नलिइएको सदस्यबाट गुनासो आइरहेकाले यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गरेको छ । यसबारे महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । महासंघले यस्ता घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पुर्‍याएको जनाएको छ । “घटनाका दोषीहरूमाथि जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिएको सदस्य व्यवसायीहरूबाट जानकारी प्राप्त भइरहेको र यस्तो अवस्था कायम रहे यसले दण्डहीनता बढन गई लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ । यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दीर्घकालीन असर पार्नेछ, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासंघले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूतिका निम्ति केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्लारनगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ । यसबारे औपचारिक आग्रह गर्दैै महासंघले गृह मन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार र निजी क्षेत्र समन्वय र मुख्य गरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले आग्रह गरेको छ । महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति,फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभई स्थायित्व नहुने, स्थायित्व नभई उद्यम, व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम, व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य सर्त भएको बताए । उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्नेमा जोड दिए । श्रेष्ठले समाजमा थप अन्योल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहीनताको अन्त्यका निम्ति दोषीमाथि छानबिन गरी कारबाहीको गर्नुपर्ने बताए । महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना गर्न निजी क्षेत्रले सरकारको सक्रियता अपेक्षा गरेको बताए । उनले हालको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी, व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको औँल्याए । छलफलमा देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी, व्यवसायी निरुत्साहित भएको भन्दै निर्बाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *