एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसहित विभिन्न आठ दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ । मंगलबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार, एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने भएको छ । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने बताए । तत्कालीक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दाबी गरे ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुनेछ । नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ । पार्टीको तत्कालीक कार्यनीति पुँजीवादी, जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ, उनले भने । उनले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने जानकारी दिए । उक्त सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतको कामहरू गरिने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *