हुन्डाईको नयाँ पुस्ताको भेन्यु सार्वजनिक
काठमाडौं । हुन्डाईले भारतीय बजारमा नयाँ पुस्ताको हुन्डाई भेन्यु सार्वजनिक गरेको छ । यसपटकको भेन्युमा बाहिरी देखावटदेखि आन्तरिक क्याबिनसम्म व्यापक परिवर्तन गर्दै आधुनिक प्रविधि र प्रिमियम लुकलाई प्राथमिकता दिइएको छ । नयाँ भेन्युको अगाडि क्रोम इन्सर्टसहितको आयताकार ग्रिल, ठाडो क्वाड–बीम एलईडी हेडलाइट, सी आकारको डीआरएल, पछाडि कनेक्टेड टेललाइट क्लस्टर र थ्री–डी भेन्यु लोगो जडान गरिएको छ । साइड प्रोफाइलमा १६ इन्चको अलोय ह्विल र सी(पिलरमा सिल्भर इन्सर्ट राखिएको छ । रग्ड लुक दिनका लागि अगाडि र पछाडि मोटा फक्स स्किड प्लेट पनि थपिएको छ । यसको क्याबिन पूर्ण रूपमा पुनःडिजाइन गरिएको छ ।
नयाँ ड्यासबोर्डसहित १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भेन्टिलेटेड फ्रन्ट सिट, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, ४ वे पावर ड्राइभर सिट, वायरलेस चार्जर र एम्बियन्ट लाइटिङ जस्ता उन्नत सुविधा समावेश गरिएको छ । सुरक्षाका लागि अगाडि र पछाडि एयरब्याग, एबीएस, ईबीडी, ईएससी आदि फिचर थपिएका छन् । नयाँ भेन्युमा १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन उपलब्ध छन् । टर्बो पेट्रोल इन्जिनले अधिकतम १२० पीएस शक्ति उत्पादन गर्छ । पहिलोपटक डिजेल भेरियन्टमा ६ स्पिड अटोमेटिक गियरबक्स उपलब्ध गराइएको छ भने यसको डिजेल म्यानुअल भेरियन्टले २०.९९ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यो एसयूभीले भारतीय बजारमा महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन, मारुती ब्रेजा, स्कोडा कुसोक तथा किया सोनेटजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
















