नेपाली कम्युनिस्ट पार्टी ज्येष्ठ नागरिक आश्रम : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पार्टीमा स्वागत गर्दै ओलीले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालहरूले विभिन्न समूह एक गरेकोप्रति कटाक्ष गर्दै ज्येष्ठ नागरिक आश्रम खोलेको टिप्पणी गरे । ज्येष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ ।
अब एक दुईजना समेट्न बाँकी छ । कोही कोही बागलुङ, प्युठानबाट । कोही कताबाट समेट्नु भयो भने कोर्ष पूरा हुन्छ उहाँहरूको, ओलीले भने । उनले काम गर्नेजति एमालेतिर आएको बताए । युवाहरू एमालेमा आइरहेको सुनाए । उनले एमालेका पूर्वउपाध्यक्ष भीम रावलप्रति कटाक्ष गर्दै भने, उमेरले मात्रै हुँदो रहेनछ । कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन् । ६ नम्बर । रावल बुधबार छैटौँ वरीयतामा रहने गरी नेकपा प्रवेश गर्दैछन् ।
















