न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको हुँ : मुख्यमन्त्री बानियाँ

काठमाडौं। सिन्धुलीगढीमा मंगलबार आयोजित २५८औं सिन्धुलीगढी विजयोत्सव समारोह तथा झण्डोत्तोलन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजनीतिक दल र तिनका नेता समयमा नसुध्रिए जनताले पुनः विद्रोह गर्ने बताएका छन्। मुख्यमन्त्री बानियाँले दल र नेताहरू सही ढंगले नचलेकै कारण मुलुकले छोटो समयमा जेन–जी पुस्ताको आन्दोलन बेहोर्नुपरेको बताए। ‘जेन–जी पुस्ताको आन्दोलन पारदर्शिता, सुशासनको पक्षको आवाज हो। सूचनाको हक खोसिएपछिको असन्तोष हो,’ उनले भने, ‘यदि हामी समयमा सुधारिएनौं भने जनता पुनः विद्रोह गर्न बाध्य हुनेछन्।’ जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म भएको भन्दै मुख्यमन्त्री बानियाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर आफू राजनीतिमा क्रियाशील रहेको बताए। ‘राजनीतिमा नाफा–नोक्सान हुँदैन, न्याय वा अन्याय मात्र हुन्छ। जसले अन्याय गर्छ, उसले सजाय भोग्नैपर्छ,’ उनले भने, ‘न्यायपूर्ण समाज निर्माणको लक्ष्य लिएर म राजनीतिमा आएको हुँ, त्यसैले मेरा लागि जनताको सेवा गर्नु नै राजनीतिज्ञको धर्म हो।’ मुख्यमन्त्री बानियाँले राजनीतिज्ञहरूले पदीय जिम्मेवारी निर्वाह नगर्दा जनतामा असन्तोष बढेको बताए।

उनले लामो संघर्ष र ठूलो बलिदानबाट प्राप्त गणतन्त्रलाई जनताको अधिकार र सहभागितामाथि आधारित व्यवस्थाको रूपमा बलियो बनाउनु पर्ने धारणा राखे। इतिहासको सन्दर्भ कोट्याउँदै उनले नेपाल एकीकरणका क्रममा विभिन्न सम्प्रदाय र क्षेत्रहरूलाई एउटै सूत्रमा बाँध्ने काम भएको चर्चा गरे। आज पनि मुलुकमा समावेशीता र सहकार्यको अनिवार्यता रहेको उनको भनाइ छ। कार्यक्रमकै दौरान मुख्यमन्त्री बानियाँले निजामती कर्मचारी र सुरक्षानिकाय दुवैलाई आफ्नो कार्यान्वयन जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरे। कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले व्यावसायिक कौशल प्रदर्शन गरेका थिए। अंग्रेजसँग ऐतिहासिक युद्ध सिन्धुलीगढीमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, विद्यार्थी, समाजसेवी तथा सर्वसाधारण सहभागी थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *