महासंघको अध्यक्ष बन्दैछु, बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार छु : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । सिबिफिनको छैठौं साधारणसभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको बताएका छन् । उनले ५ महिनापछि महासंघको अध्यक्ष बनी समाधान निकाल्ने बताएका हुन् । उनले भने, ‘गत वर्षको अन्त्यतिर अर्थतन्त्र सुधार हुने अपेक्षा थियो । तर परिस्थितिमा फरक आएको छ । ५ महिनापछि महासंघको अध्यक्ष बन्दैछु, बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न म तयार छु ।’ श्रेष्ठले जेनजी आन्दोलनमा उद्योगी तथा व्यवसायीलाई टार्गेट गरी भएको तोडफोड र आगजनीले मनोबल गिरेको बताए ।
उनले भविष्यमा उद्योगी तथा व्यवसायी माथिको आक्रमण रोक्न सरकारसँग मागसमेत गरे । श्रेष्ठले एसएमई लोनमा गरीबबाट धनी बनाउन सक्ने अवधारणा रहेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको प्रष्टाए । उनले बैंकले लिलाम मात्रै गर्न थालेको बताउँदै यसमा सहजीकरण गर्नुपर्यो भनी उद्योगी व्यवसायीले गुनासो गरेको उल्लेख गरे । त्यस्तै, श्रेष्ठले बिना धितो कर्जा पाउन सक्ने गरी व्यवस्था हुन जरुरी रहेको पनि औंल्याए । स्टार्टअपलाई २५ लाखसम्म ऋण दिने व्यवस्थालाई ५० लाख पुर्याउनु पर्ने उनको माग छ ।
















