युक्रेनमा रूसको भीषण आक्रमण
काठमाडौं । रूसले शुक्रबार बिहानै युक्रेनमा भीषण आक्रमण गर्दा आठजनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् । धेरै जिल्लामा भवनमा भीषण आगलागी भएको छ । विभिन्न भवनहरूमा खसेका भग्नावशेषमा परेर ३५ जना घाइते भएका छन् । उद्धार तथा आपतकालीन टोली तत्काल परिचालन भए पनि ठूलो क्षतिको रोकथाम गर्न नसकिएको किभ सैन्य प्रशासनका प्रमुख तैमूर तकाचेन्कोले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, आक्रमणमा रूसले ४३० ड्रोन र १८ मिसाइल प्रयोग गरेको थियो । देशका अन्य क्षेत्रमा आक्रमण भए पनि मुख्य लक्ष्य किभ थियो । उनले ‘टेलिग्राममा लेखेका छन्, यो सुनियोजित आक्रमण अधिकतम क्षति पुर्याउनका लागि गरिएको हो । किभमा मात्र दर्जनौँ अपार्टमेन्ट भवन क्षतिग्रस्त भएका छन् । जेल्नेस्कीले इस्कान्डर मिसाइलका टुक्राले अजरबैजान दूतावासलाई क्षति पुर्याएको बताएका छन् ।
सहरभर बिजुली र पानी आपूर्ति अवरुद्ध भएको छ । वायु सुरक्षाले आक्रमण रोक्ने प्रयास गर्दा १५ जनालाई अस्पताल भर्ना गरिएको छ । प्रारम्भिक जानकारीअनुसार, रूसीहरूले सुमी क्षेत्रमा जिरकन मिसाइल पनि प्रयोग गरेका थिए । यो आक्रमणपछि जेल्नेस्कीले पुनः कडा प्रतिबन्धको माग गर्दै पश्चिमी साझेदारहरूसँग थप सैन्य सहयोग आवश्यक भएको उल्लेख गरे । युक्रेनले लामो दूरीका क्षमताबाट प्रतिक्रिया दिइरहेको छ । तर, विश्वले पनि प्रतिबन्धमार्फत रूसलाई रोक्नुपर्छ, अझै रुस तेल बेच्न र योजना बनाउन सक्षम छ, यो रोकिनुपर्छ । युक्रेनको वायु रक्षा सुदृढ बनाउन धेरै काम भइरहेको तर त्यो पर्याप्त नरहेको उनले प्रष्ट पारेका छन् । हामीलाई थप प्रणाली र अवरोधक मिसाइलहरू आवश्यक छन्, उनले भनेका छन् । यसैबीच, रूसी रक्षा मन्त्रालयका अनुसार, उनका वायु रक्षा बलहरूले रातभरमा २१६ युक्रेनी ड्रोन नष्ट गरेका छन् । दक्षिणी क्रास्नोडार क्षेत्रमा मात्रै ६६ ड्रोन खसालिएको बताइएको छ, जहाँ पहिले एउटा तेल भण्डारण केन्द्र र बन्दरगाहलाई लक्षित गरिएको थियो । रूसको सारातोभ क्षेत्रका गभर्नरले पनि ड्रोन आक्रमणले स्थानीय सार्वजनिक संरचनामा क्षति पुर्याएको बताएका छन् । रोयटर्स
















