जेनजी आन्दोलनमा क्षतिग्रस्त थापाथलीको टाटा शोरुम पुनः सञ्चालनमा
काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षति पुगेको थापाथलीस्थित आगजनी तथा तोडफोडका कारण क्षति पुगेको टाटा शोरुम पुनः सञ्चालनमा आएको छ । आज शोरुममा रुद्री पूजा तथा होम गरेर उद्घाटन गरिएको छ । टाटा मोटर्सको फ्ल्यागसिप शोरुम ७० दिनमै पूर्णरूपमा पुनः सञ्चालनमा आएको हो । सिप्रदी ट्रेडिङ प्रालिको प्यासेन्जर भेहिकल डिभिजनका महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनका कारण क्षति पुगेको शोरुम ७० दिनमै पुनर्निर्माण गरेर पूर्ण सञ्चालनमा ल्याइएको बताए । बढी क्षति पुगेको अवस्थाबाट रेकर्ड समयमै शोरुम सञ्चालनमा ल्याउन सफल भएको सिजापतिले बताए । ‘हामीले ७० दिनमै शोरुम पुनः तयार बनायौं, आजदेखि फुल सेल्स अपरेसन सुरु भएको छ,’ उनले भने । आन्दोलनका कारण मुख्य शोरुम बन्द भए पनि सेवामा अवरोध नआओस् भनेर शोरुम पछाडिको सानो स्थानमा टेम्पोररी सेल्स सेटअप सञ्चालन गरिएको थियो । आगजनी तथा तोडफोडका कारण ८ गाडीमा पूर्णरूपमा क्षति पुगेको थियो भने शोरुमको ८० प्रतिशत संरचना नोक्सान भएको थियो ।

आगजनीका कारण शोरुममा रहेका ६ वटा इलेक्ट्रिक भेहिकल (ईभी) सहित ८ गाडी पूर्णरूपमा जलेर नष्ट भएको थियो । ‘अगाडि डिस्प्लेमा रहेका ६ वटा गाडी पूरै खरानी भए, दुइटा गाडी भ्यान्डलाइज्ड भए, संरचनाको करिब ८० प्रतिशत क्षति भयो,’ सिजापतिले भने । गाडी पूरै जले पनि ईभीका ब्याट्री नपड्किनुले ठूलो सन्देश दिएको उनको भनाइ छ । बजारमा ईभी गाडीको ‘ब्याट्री पड्किन्छ’ भन्ने भ्रम फैलिरहेको बेला आगजनीबाट ब्याट्रीमा केही नभएकाले त्यो भ्रम समाप्त भएको बताए । सिप्रदीका २२ वर्कसप तथा चार्जिङ नेटवर्क आन्दोलनपछि पनि सामान्य रूपमा चलिरहेको उनको भनाइ छ । हाल देशभरि ३८ वटा डीसी फास्ट चार्जर सञ्चालनमा छन् । माग अनुसार थप विस्तार गर्ने कम्पनीको योजना छ । टाटाका ईभी मोडेलमा टियागो, पन्च, नेक्सन ईभी नेपालमा लोकप्रिय छन् । टाटा मोटर्सले निरन्तर नयाँ प्रडक्ट ल्याइरहेको र भारतमा २५ नोभेम्बरमा ‘टाटा सिएरा’ रिलन्च घोषणा हुन लागेको र चाँडै नेपाल ल्याइने उनले बताए । पुनर्निर्मित शोरुममा ग्राहक अनुकूल छुट्टाछुट्टै लाउन्ज, अधिक सुव्यवस्थित डिस्प्ले एरिया तथा आधुनिक सेटअप राखिएको कम्पनीको दाबी छ । शोरुमलाई पुरानाभन्दा अझै आधुनिक बनाइएको र यसले राम्रो अनुभव दिन डेडिकेटेड ग्राहक क्षेत्र बनाएको उनको भनाइ छ । शोरुम क्षतिग्रस्त भएको अवस्थामा पनि कम्पनीले एकदिन कर्मचारीलाई बिदा वा सुविधा कटौती नगरी निरन्तर काम गराएको सिजापति बताउँछन् । ग्राहकलाई दुःख नहोस् भनेर दुई दिनमै टेम्पोररी शोरुम खोलेर सेवा प्रवाह गरिएको र त्यसले कर्मचारीलाई समेत समस्या नभएको बताए । सिप्रदी नेपालकै सबैभन्दा ठूलो मोटर नेटवर्कमध्ये एक हो । कम्पनीले पहिलो करदाताको पुरस्कार समेत पाएको इतिहास छ । ७० दिन टेम्पोररी शोरुममा आएर साथ दिएकामा सबै ग्राहकलाई कम्पनीले आभार व्यक्त गरेको छ । नयाँ शोरुम खुलेको र अझ राम्रो अनुभवका लागि ग्राहकलाई कम्पनीले आमन्त्रण गरेको छ ।
















