जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भनेको के हो ? : अध्यक्ष ओली
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ भन्नेहरूले पार्टी र नेतृत्वविरूद्ध हमला गरेको आरोप लगाएका छन्। च्यासलमा चलिरहेको निवर्तमान सांसदहरूको भेलामा बोल्दै ओलीले भदौ २३ र २४ को जिम्मा आफूले नलिने दोहोर्याए। केही समयअघि मात्रै उपाध्यक्ष सुरेन्द्र पाण्डेले धरहरा मैले बनाएको भन्ने प्रधानमन्त्रीले जेनजी विद्रोहमा भएको मानवीय क्षतिको पनि जिम्मा लिनुपर्ने अभिव्यक्ति दिएका थिए। ‘प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ भनेको सुनिन्छ। के हो जिम्मा लिनु भनेको ?’, उनले भने, ‘यो पार्टी विरूद्धको स्पष्ट हमला हो।
लिडरसीपविरूद्धको हमला हो। जिम्मा लिनुपर्छ भनेको के हो ? ’ संसद भवनमा आगो लगाउन खोजिएपछि गोली चलाउनु परेको भनेर सेना प्रहरी लगायतका सुरक्षा अंगले भनिसकेको बताउँदै ओलीले त्यसबेला परिस्थिति नै त्यस्तो बनेको दाबी गरेका हुन्। जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यसमध्ये ४५ जनालाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ।
















