आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक बस्ने जानकारी दिए । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अघिल्लो बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै पटक पटक बैठक सारिएको हो । पार्टीको १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद मिलाउन पदाधिकारीहरू छलफल गरिरहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गर्न मध्यमार्गी बाटोबाट सहमति जुटाउने प्रयासमा लागेका हुन् ।
पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महाधिवेशनका सम्बन्धमा देखिएको विवाद समाधानका लागि शीर्ष तहका नेताहरू अहिले अनौपचारिक छलफलमा रहेको जानकारी दिए । ‘कार्यवाहक सभापति, महामन्त्रीहरूलगायतका नेताहरू महाधिवेशन विवाद मिलाउने मध्यमार्गी बाटो खोज्न अनौपचारिक छलफल गरिरहनु भएको छ,’ विश्वकर्माले भने, ‘आज दिउसोसम्म केही न केही मध्यमार्गी प्रस्ताव ल्याउन नेताहरूमाथि दबाब छ । ल्याउनु हुन्छ ।’ गत असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनका सम्बन्धमा दुई प्रस्ताव पेस भएका छन् । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । त्यसैदिन थापाको प्रस्तावलाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । महामन्त्री थापाको प्रस्तावलाई इतर समूहले र सहमहामन्त्री यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद चर्किएको छ । केही नेताहरूले दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी प्रस्ताव ल्याइ विवाद समाधान गर्न प्रयास गरिरहेका छन् । त्यसमा पार्टीभित्रको इतर समूहका नेता डा शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायत छन् ।
















