गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतिस्पर्धा सम्पन्न गरिएको हो । खुला तर्फ १० किमीको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र सोही मार्ग हुँदै पुनः बालुवाटारमै समापन गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किमी दुरीको प्रतियोगिता समेत बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै सम्पन्न गरिएको हो । २०७ जनाभन्दा बढी सहभागी रहेको खुला विधामा महिलातर्फ १० किमी दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम बनेकी छिन् । पुरुषतर्फ २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले पहिलो स्थान हासिल गरेका छन् । पुरुष खुला विधाका सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जित्न सफल भएका छन् ।

खुला विधाका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पंचम स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान ५ किमी विधाका उत्कृष्ट पाँच धावकहरूलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, सेयरधनी, स्थानीय निकायका प्रतिनिधि, संघ–संस्था, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले कार्यक्रममा स्वास्थ्य–सचेतना र सामुदायिक सहभागिताबाट प्राप्त सकारात्मक प्रभावको बारेमा प्रकाश पारे । समापन सत्रमा बैंकका अध्यक्ष दिलिपप्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मङ्सिर ७ गते बैंकले १९औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *