एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बीका रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे पनि भनिएको छ । आज पूर्वका दुई टिम विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ । यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।
यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ । पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।
एनपीएल २०२५ मा हालसम्म ८ खेल सम्पन्न भएका छन् । जनकपुरले १ खेल मात्र खेल्दा काठमान्डु गोर्खाजले ३ खेल खेलेको छ । बाँकी सबै टिमले २(२ खेल खेलेका छन् । हालसम्म २ खेल खेल्दा २ जित निकालेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स ४ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् । नेटरनरेटमा सुदूर अघि छ । २ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स क्रमशस् तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । १ खेलमा १ हार बेहोरेको जनकपुर बोल्ट्स सातौं तथा २ खेलमा हार बेहोरेको पोखरा एभेन्जर्स आठौं स्थानमा छन् ।
















