गरिबी रहँदासम्म समानता हुँदैन : प्रधानमन्त्री

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन् । प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यको लागि पहिले गरिबी अन्त्य गर्नु पर्ने बताएकी हुन् । ‘गरिबी रहँदासम्म समानता हुँदैन । खान छैन भने घरमा के को समानता ? ’ उनले भनिन्, ‘पहिले गरिबी हटाउनुपर्‍यो । रोजगारी सिजर्ना गर्नुपर्‍यो । महिलाले पनि रोजगारी गर्न पाउनु पर्‍यो । त्यसपछि मात्र हिंसाको अन्त्य हुन्छ, समानता आउँछ ।’

मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानु परिरहेको बताएका प्रधानमन्त्रीले भनिन्, ‘रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ । यसको अन्त्य हुनु पर्‍यो ।’ गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्तिहरूमा महिलालाई प्राथमिकता दिएको बताइन् । तर, महिलालाई नियुक्ति गर्ने भन्दैमा वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा भए तिनलाई अवसरबाट बञ्चित नगरिने उनले बताइन् । ‘मैले सरकारमा आएपछि नियुक्ति गर्दा महिला खोज्ने गरेको छु । तर, वर्षौंसम्म मेहनत गरेका पुरुष पहिलो नम्बरमा छन भने तिनलाई अवसर नदिने कुरा पनि भएन,’ उनले भनिन्, ‘तर, जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ, त्यहाँ महिलालाई ल्याउने गरेका छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *