ओलीविरुद्ध मैदानमा उत्रिए पोखरेल

काठमाडौं । एमालेमा एकछत्र राज जमाएका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्ने भएका छन् । मंसिर ४ गते पार्टीको सचिवालय बैठकमा जानकारी गराएका पोखरेलले मंगलबार अध्यक्षको उमेदवार भएको औपचारिक घोषणा गरेका हुन् । पूर्वउपाध्यक्ष विद्या भण्डारी उपस्थित भएर घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो । तर, उक्त कार्यक्रम स्थगित गरी वक्तव्यमार्फत् पार्टी पुनर्गठन र रुपान्तरणका लागि नेता कार्यकर्ताको सुझावअनुसार अध्यक्षको उमेदवारी प्रस्तुत गरिएको पोखरेलको भनाइ छ । मंसिर २७–२९ मा हुने ११औँ महाधिवेशनका लागि पोखरेल भण्डारीको समर्थनमा अध्यक्ष ओलीसँग भिड्न तयार भएका हुन् । संस्थापन पक्षका नेताहरुले ओलीको विकल्प नरहेको भन्दै उनी नै अध्यक्ष बन्ने दाबी गर्दै आएका छन् । पोखरेलले ओलीलाई अब अभिभावक बनेर बस्न आग्रह गर्दै उनैले अघि सारेका मान्यता स्मरण गराएका छन् । वर्तमान पार्टी अध्यक्ष ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको आठौँ, नवौँ र दशौँ राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागु गरिनुपर्ने भनाइ पोखरेलको छ । जसअन्तर्गत पार्टीको मूख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनःस्थापित गरिनुपर्ने माग पोखरेलको छ । पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,” पोखरेलको अपिल छ, “अभिभावकीय भुमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु । पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको माग गरेका छन् । दुई कार्यकाल राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय लामो समयदेखि उठ्दै आएको छ । गएको साउनको पहिलो साता बसेको केन्द्रीय कमिटीको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने र राजनीतिमा रोक लगाउने गरी निर्णय गरेको थियो । त्यसै समयदेखि भण्डारीका विषयमा पार्टीका बैठकमा उनी समर्थित नेताहरुले सदस्यता नवीकरणको माग राख्दै आएका छन् । विगतमा भण्डारीसँग कुराकानी गर्ने भन्दै पन्छिने गरेका ओलीले बिहीबारको सचिवालय बैठकमा भने केही बोलेनन् । ओलीले ‘इग्नोर’ गरे पनि भण्डारीको सदस्यताको विषयमा महाधिवेशनअघिको अन्तिम केन्द्रीय समिति बैठकमा उठाउने उनी निकटस्थ नेताहरुले बताउँदै आएका छन् । वक्तव्यमा पोखरेलले भण्डारीलाई पार्टी काममा फर्कने वातावरण मिलाउनपर्ने माग प्रस्तुत गरेका छन् । “चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएका पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो,” पोखरलले भनेका छन्, “पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।” पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनक सहभागिता गराउनुपर्ने पोखरेलको भनाइ छ । पोखरेलले जनताको वहुदलीय जनवादको समीक्षाको आवश्यकता पनि औंल्याएका छन् । शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्दै समानता र सामाजिक न्याय सहितको समाजवादको आधार निर्माण गर्नु जनताको बहुदलीय जनवादको मूख्य कार्यदिशा हो,” पोखरेलले भनेका छन्, “जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीले विगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ । जनताको बहुदलीय जनवादले भने जस्तैगरी कति अघि बढ्न सक्यौँ रु स्वंयम् समीक्षा गर्न आवश्यक छ ।” पोखरेलले जबजको ३३ वर्षका अभ्यास र अनुभवहरुका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम अपिल पनि गरेका छन् । “यसका लागि महाधिवेशन पश्चात् पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरुको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरुसँग समेत छलफल र अन्तक्रिया गर्न हामी प्रतिबद्ध छौं । पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरु बीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ,” पोखरेलले वक्तव्यमा भनेका छन् । पार्टीको सदस्यता नपाएपछि पोखरेललाई अघि सारेकी भण्डारीको पक्षबाट सबै पदाधिकारीमा लड्ने गरी प्यानल नै बनाइने नेताहरु बताउँछन् । हालका पदाधिकारीमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट खुलेरै ओलीविरुद्ध छन् । अर्थात् पोखरलको समर्थनमा छन् । भण्डारीको समर्थनमा प्यानल घोषणा प्रतिनिधि छनोट अघि नै गर्दा समस्या हुने बुझाइ उनीहरुको छ । उनका अनुसार प्यानल घोषणा नगर्नुको पहिलो कारण छ–प्रतिनिधि छनोटमा खुलेका कार्यकर्तालाई संस्थापन पक्षले समस्या पार्न सक्छन् । केहीलाई फकाउने र धम्क्याउने सम्भावना उत्तिकै हुन्छ । दोस्रो कारण छ– ओलीलाई साथ दिएका माथिल्लो तहका नेता अन्तिम समयमा आउन सक्छन् । अहिले नै प्यालन घोषणा गर्दा ओलीसँग असन्तुष्ट नेताहरुका लागि पनि बाटो छेकिन सक्छ । त्यसैले ओली समूहका नेताहरुलाई पर्खिनका लागि पनि अहिले प्यानल घोषणा नगरिएको हो । तेस्रो र अन्तिम कारण– पदाधिकारी तहकै नेताहरुले नै पर्खिन आग्रह गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले नै महाधिवेशन प्रतिनिधि छनोटअघि केही नबोल्ने बताएका छन् । ओली पक्षीय महासचिव दाबेदार नेताहरु पनि पोखरेलसँग निरन्तर संवादमै छन् । ११औँ महाधिवेशनमा प्रत्येक पदमा निर्वाचन हुन्छ । यो पटक पछि हट्ने मनस्थितिमा छैनौं, संस्थापनइतर नेता भन्छन् । बिहीबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्ने भए नरोक्ने बताएका थिए । तर, पार्टीमा चुनाव हारेपछि पार्टी छोडेर हिँड्ने नेताहरु माधवकुमार नेपाल, भिम रावलको प्रसंग भने सुनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *