बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था प्राधिकरणमा अभिलेखीकरणका लागि दर्ता खुल्ला
काठमाण्डौं । मुलुकभर रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता, अभिलेखीकरण कार्य आजबाट सुरु भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले आज एक कार्यक्रमको बीच सफ्टवेयरको शुभारम्भ गरेका छन्। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई प्राधिकरणमा दर्ता,अभिलेखीकरण गर्ने उदेश्यले सफ्टवेयर तयार गरी सार्वजनिक गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक डा। शेष नारायण पौडेलले सहकारी संस्थाहरुको वर्गिकरण गरी नियमन तथा अनुगमन गर्नको लागि दर्ता,अभिलेखीकरणको कार्य अगाडि बढाइएको बताए । सहकारी ऐनमा भएको पछिल्लो संशोधनको दफा २० (क) मा एक बर्षभित्र बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता अभिलेखीकरण हुनुपर्ने व्यवस्था गरिएको छ । उनले भने,‘ पहिलो संस्थाहरुको वर्गिकरण र दोस्रो नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित गर्न सहकारीहरुको डाटा प्राधिकरणमा हुुनुपर्छ भन्ने अभिप्रायले दर्ता अभिलेखीकरणको काम सुरु भएको हो । ‘सहकारीहरूले युजरनेम र पासवर्ड लिएर आफ्नै कार्यालयबाट तोकिएका विवरण र कागजातहरू अपलोड गर्न सक्नेछन्, पौडेलले भने, ‘प्राप्त विवरणहरू हाम्रो एडमिन प्यानलबाट भेरिफाई भएपछि सफ्टवेयरले नै स्वतः सञ्चालन अनुमतिपत्र (लाइसेन्स) जेनेरेट गर्नेछ, जुन सहकारी संस्थाले आफैं प्रिन्ट गरेर राख्न सक्नेछन् ।’ उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन,अनुगमन, सुपरीवेक्षण,मापदण्ड र मार्गदर्शनका लागि आवश्यक नीति नियम बनाई प्राधिकरणले लागु गर्ने बताए । हिजोको दिनमा स्वतन्त्र र स्वायतत्ता निकायको अभावमा सहकारीहरुमा विभिन्न समस्या देखिएको बताउँदै यस क्षेत्रको समस्या समाधानमा प्राधिकरणले काम गर्ने उल्लेख गरे । सहकारी संस्थालाई व्यवस्थित गर्न आवश्यक पर्ने ऐन नियकको संशोधन र नयाँ कानुन निर्माण गर्ने कार्यमा प्राधिकरणले काम गर्दै आएको उनको भनाई छ । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई नियमन गर्नको लागि नै अभिलेखीकरण खुल्ला गरिएको उनले बताए । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सम्पूर्ण प्रकृतिका सहकारीले प्राधिकरणबाट अनुमतिपत्र लिनुपर्ने कानुनी व्यवस्था छ । प्राधिकरणले सम्पूर्ण काम अनलाईनबाटै गर्न सकिने व्यवस्था मिलाएको छ । सहकारीहरुले अनुपतिपत्रका लागि सहकारीहरुले आफ्नो संस्थाको इमेल राखेर युजर क्रिएट गर्नुपर्ने हुन्छ । युजर क्रिएर भएपछि प्राप्त निर्देशनहरु भरेर समिट गरेपछि प्राधिकरणबाट भेरिफिकेशनको काम हुन्छ । सबै विवरणहरु ठीक भएको अवस्थामा अनलाईन सिस्टमबाटै सहकारीले अनुमतिपत्र प्राप्त हुने प्राधिकरणले जनाएको छ।
















