नियमित महाधिवेशनको मिति घोषणा भएपछि विशेषको चर्चा गर्नु असान्दर्भिक : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति सर्वसम्मत घोषणा भइसकेको बेलामा विशेष महाधिवेशनको चर्चा असान्दर्भिक भएको बताएका छन् । बिहीबार आफ्नो निवासमा भेट्न पुगेका पार्टीका युवाहरूसँग सभापति देउवाले १५ औँ महाधिवेशनमार्फत पार्टी लाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिए । देउवालाई भेट्न उनको निवास महाराजगन्जमा नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, नेविसंघ पूर्वमहामन्त्री सरोजकुमार थापा, नेविसंघ पूर्वउपाध्यक्ष पुष्प शाहीसहित थलकुमार लिङ्खा, मनिष थापा, गीता गुरुङ, तीर्थ गौतम, इन्दु शर्मा, अन्जान लामा लगायत पुगेका थिए । भेटमा सहभागी नेविसंघ पूर्व महामन्त्री थापाले नियमित महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक हुने देउवाले बताएको जानकारी दिए । ‘नियमित महाधिवेशनमा पार्टी अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक हो ।
आशङ्का र प्रचारबाजीलाई युवा र विद्यार्थीले चिर्दै अघि बढ्नुपर्छ, देउवाको भनाइ उद्धृत गर्दै थापाले रातोपाटीसँग भने, ‘१५ औँ महाधिवेशन मार्फत पार्टी लाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिनुभयो। भेटमा युवाहरूले विधि र प्रक्रिया अनुरूप निर्धारित समयमा महाधिवेशन गर्न र वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन र युवाहरूको महाधिवेशनमा उल्लेखनीय उपस्थिति बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । देउवालाई युवाहरूले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शिता हासिल गरेको युवालाई नयाँ अनुहारको रूपमा पार्टीको तर्फबाट उम्मेदवार बनाउन आग्रह गरेका थिए ।















