प्रधानमन्त्री कार्कीले मलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व नै परिवर्तन गरेको छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धीकरण विभागमा नेतृत्व नै परिवर्तन गरेको जिकिर गरे । सम्पत्ति शुद्धीकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकूलको व्यक्ति ल्याएको समेत दाबी गरे ।
अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोप लगाए । प्रधानमन्त्रीजी भन्नु हुन्छ– प्रमाण तयार गर्नुस्, प्रमाण तयार । मैले थुप्रै ठाउँमा भनेको छु– प्रधानमन्त्रीजीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुख कि के छ, बोलाएर तीनपटक मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, केही गर्नुस । गिरफ्तार गर्नु पर्यो भन्ने माग गर्नुस भनेर उहाँले अनेक दबाब दिनुभयो । त्यहाँका प्रमुखले यस्तो झुटो काम गर्न सक्दिन, गैरकानुनी काम पनि गर्न सक्दिन, कानुनमा यस्तो छैन । र म एउटा कर्मचारी भएर त्यस्तो गर्न सक्दिन । अब कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भनेपछि ती प्रमुखलाई त्यहाँबाट तुरुन्त हटाइयो । अध्यक्ष ओलीले सरकार अवैधानिक भएको भन्दै यसले अध्यादेश ल्याउने काम गर्न नहुने उल्लेख गरे ।
















