किसान साकोसद्वारा मध्यविन्दु–४ ‘पूर्ण किसान सदस्य वडा घोषणा
रुपन्देही । किसान बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यविन्दु नगरपालिका–४ लाई पूर्ण किसान सदस्य वडा घोषणा गरेको छ। सहकारीको पञ्चवटी सेवा केन्द्र परिसरमा मंसिर २० गते आयोजना गरिएको भव्य कार्यक्रममा कुल ८४० घरधुरीमध्ये ८०३ घरधुरी (९५.५९ प्रतिशत) किसान साकोसमा आबद्ध भएको आधारमा सो घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा मध्यविन्दु नगरपालिकाकी उप–प्रमुख पूर्णकला चौधरीले वडा–४ का अध्यक्षको सिफारिस र सहकारीको प्रस्तावका आधारमा पूर्ण वडा सदस्यता अभिलेख सहकारीका अध्यक्ष भोजराज पौडेललाई हस्तान्तरण गरिन् । उप–प्रमुख चौधरीले किसान साकोसले घर–घरमा पु¥याउँदै आएको वित्तीय पहुँच, महिला आर्थिक सशक्तीकरण तथा सदस्य सेवाको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिकाले सहकार्य अझ बढाउने बताइन्। साथै, सहकारीबारे स्पष्ट जानकारी राखी सचेत रूपमा सेवा लिन सदस्यलाई उनले सुझाव दिइन्। वडा–४ का अध्यक्ष डिल्लीराम थारूले किसान साकोसले घरदैलोमै वित्तीय पहुँच पुर्याउँदै स्वास्थ्य शिविर, वित्तीय साक्षरता लगायतका कार्यक्रममार्फत समुदाय सशक्तिकरणमा ठूलो योगदान दिएको भन्दै धन्यवाद व्यक्त गरे। संस्थाका अध्यक्ष भोजराज पौडेलले वडा–४ का सबै सदस्यप्रति आभार व्यक्त गर्दै कार्यक्रम भव्य र सफल बनाउन सहयोग पुर्याउने सबैसँग कृतज्ञता व्यक्त गरे।
११७ सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण
साथै, कार्डियोलोजी एण्ड डायबिटिक सेन्टर, चोविसकोठी–भरतपुरका ११ सदस्यीय विशेषज्ञ टोली तथा मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका प्राविधिकसहित भएको स्वास्थ्य शिविरमा ११७ जना सदस्यले कार्डियोलोजी, डायबेटिक, रक्त, ईसीजी परीक्षण तथा निःशुल्क औषधि प्राप्त गरे । कार्डियोलोजी एण्ड डायबिटिक सेन्टर भरतपुरका अध्यक्ष विजय न्यौपानेले सहकार्यमा आयोजित शिविर समुदायस्तरमा स्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यअनुरूप भएको बताउँदै सेवा विस्तार मुख्य लक्ष्य रहेको उल्लेख गरे। भोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा, उप–प्रमुख चौधरी प्रमुख अतिथि थिइन् भने नेफ्स्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतम, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष तिलकप्रसाद पराजुली, वडा–४ का अध्यक्ष डिल्लीराम थारू र वडा–६ का अध्यक्ष लाभप्रसाद पाठक विशेष अतिथि रहेका थिए। सचिव सरस्वती कँडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष, सञ्चालक समिति, विभिन्न सेवा केन्द्रका संयोजक, वडा अध्यक्षहरू, संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकाय, टोल विकास संस्थाका प्रतिनिधि, शेयर सदस्य तथा कर्मचारी गरी उल्लेख्य उपस्थिति रहेको थियो। संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले सहकारीले सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि सहकार्यसहित योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पञ्चवटी सेवा केन्द्र संयोजक कला भुषालले स्वागत मन्तव्य राख्दै सदस्य, समुदाय र सरोकारवालाबाट प्राप्त विश्वासले संस्थालाई निरन्तर सक्षम बनाइरहेको बताएकी थिइन्।















