काठमाडौंमा यस वर्षकै आजसम्मको न्यून तापक्रम

काठमाडौं । काठमाडौंमा आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको काठमाडौंको अहिलेसम्मको न्यून तापक्रम हो । यसअघि यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । सोमबार पनि काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ६.७ डिग्री सेल्सियस थियो । तर, ८ः४५ मा घटेर ६.१ मा झरेको थियो । ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम थप घट्न सक्छ,” मौसमविद् डेबिड ढकाल भन्छन्, “सामान्यतया ५ः४५ मा भन्दा ८ः४५ मा तापक्रम न्यून हुन्छ ।

यसैबीच, काठमाडौंको भिजिबिलिटी आज बिहान ५ः४५ मा पाँच हजार मिटर छ । तराई र उपत्यकामा कुहिरो र हुस्सु लागेको छ । मौसमविद् ढकालका अनुसार सबैभन्दा कम भिजिविलिटी जनकपुरमा छ । जनकपुरमा बिहान ५ः४५ को भिजिबिलिटी ४०० मिटर छ । सोही समयमा धनगढी र दिपायलको ५०० मिटर र बिराटनगरको भिजिबिलिटी एक हजार मिटर रहेको छ । जाडो बढ्ने क्रममा रहेकाले अब विस्तारै भिजिबिलिटी कम हुँदै जान्छ,” मौसमविद् ढकालले भने, “तर, घाम लाग्न थालेपछि बिहान भिजिबिलिटी कम भए पनि दिउँसो अवस्था सामान्य हुँदै जान्छ । यसैबीच, आज दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *