भक्तपुर बचत संघद्धारा नियमन प्राधिकरणमा दर्ता–अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम भक्तपुर बैंक्वेटमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्राधिकरणका सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाईले सहकारी क्षेत्रको विकृति न्यूनीकरण र जोखिम व्यवस्थापनका लागि बचत तथा ऋणमुखी सबै सहकारी संस्थाले अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुनुपर्ने आवश्यकता दोहोर्याए। सहकारी सदस्यताको सिद्धान्त स्पष्ट भए पनि व्यवहारमा अव्यवस्था र दुरुपयोग भएकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको उनले उल्लेख गरे । सहकारी संघ र संस्थाको भूमिकामा फरक भएकाले संघको वित्तीय कारोबारलाई पनि व्यवस्थित गर्ने दिशा निर्देशन आवश्यक रहेको उनको भनाइ थियो। संघका अध्यक्ष हरिकृष्ण बल्लले प्राधिकरणमा समयमै दर्ता नभए कर्जा सूचना केन्द्रमा आवद्धता नहुने र सरकारी सुविधाबाट पनि वञ्चित हुनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। नियामकीय मापदण्डका कारण प्रारम्भिक सहकारीबाट संघमा राखिएको बचत तरलता गणनामा नपर्नु चुनौती बनेको भन्दै उनले संघमार्फत सदस्य सहकारीको वित्तीय आवश्यकता पूरा गर्न अनुकूल वातावरण बनाउन आग्रह गरे ।
निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले दर्ता तथा वर्गीकरणलाई संघहरूले नै माग गर्दै आएका कारण प्राधिकरणको अभियान सकारात्मक रहेको उल्लेख गरे। संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले बहुनियमन र बहुदर्ता जस्ता कानूनी व्यवस्थाले प्रारम्भिक संस्थाहरूमा अन्यौल बढाएको बताउँदै एकद्वार प्रणालीबाट नियमन आवश्यक रहेको धारणा राखिन् । संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले अभिलेखिकरण प्रक्रिया, आवश्यक कागजात तथा दर्ता गर्दा ध्यान दिनुपर्ने विषयबारे प्राविधिक प्रस्तुति दिएका थिए । संघका सचिव कान्छाभक्त घजुले सञ्चालन गरेको कार्यक्रममा १७२ सहकारी संस्थाबाट २५३ जनाको सहभागिता रहेको संघले जनाएको छ।
















