वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा बढाइएको शुल्क खारेज

काठमाण्डौं । अन्तरिम सरकारले बढाएको वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क अन्ततः खारेज भएको छ। चौतर्फी आलोचना र विरोध भएपछि प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट गरिएको निर्णयमार्फत बढाइएको शुल्क फिर्ता लिइएको हो। प्रधानमन्त्री तथा मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ पुस ४ गते शुल्क वृद्धिको निर्णय खारेज भएसँगै अब वैदेशिक रोजगारीमा जाने कामदारले पुरानै दरअनुसार स्वास्थ्य परीक्षण गराउन पाउनेछन्। अब स्वास्थ्य परीक्षण शुल्क ६ हजार ४ सय रुपैयाँमै कायम रहनेछ। यसअघि जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको थियो। तर निर्णय सार्वजनिक भएलगत्तै मजदुर, वैदेशिक रोजगार व्यवसायी तथा सरोकारवाला निकायबाट तीव्र विरोध भएपछि सरकार निर्णयबाट पछि हट्न बाध्य भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको सूचनामा तोकिएको शुल्कभन्दा बढी रकम लिन नपाइने स्पष्ट गरेको छ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगार व्यवसायी संघलगायत विभिन्न सरोकारवाला संस्थाबाट स्वास्थ्य परीक्षण शुल्क बढाइएको भन्ने गुनासो प्राप्त भएपछि विषयमा पुनरावलोकन गरिएको हो। त्यसपछि सेवा शुल्क यथावत् राख्दै हाल लागू दर ६ हजार ४ सय रुपैयाँअनुसार नै स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले तोकिएको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा सम्बन्धित स्वास्थ्य संस्थामाथि प्रचलित ऐन तथा कानुनअनुसार कडा कारबाही हुने चेतावनी पनि दिएको छ। सबै सूचीकृत स्वास्थ्य संस्था, वैदेशिक रोजगार व्यवसायी र कामदारलाई तोकिएको मापदण्डअनुसार मात्रै सेवा लिन–दिन आग्रह गरिएको छ। सरकारका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरू आर्थिक भारमा नपर्न्, सेवा प्रक्रिया पारदर्शी होस् र अनावश्यक शुल्क असुली नहोस् भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण शुल्क निश्चित गरिएको हो। अब स्वास्थ्य परीक्षणको नाममा मनपरी शुल्क लिन नदिइने र नियमित अनुगमनलाई थप कडाइका साथ अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *