सर्वाधिक व्यापार गर्ने सूचीको चौथो स्थानमा परान
काठमाडौं । नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औँ दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले काठमाडौं उपत्यकामा रहेका आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्युएफएक्स सिटी स्क्वाएर मल, क्युएफएक्स भक्तपुर, सिके सिनेमाज, क्युएफएक्स लविम मल, आइएनआइ सिनेमा लोत्से मल, आइएनआई सिनेमा विश्वज्योति, बिएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आइएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्युएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको हो । ‘हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आम दर्शकसम्म पुर्याएका छौँ ।
यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौं,’ निर्देशक आचार्यले भने । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार उक्त चलचित्रले देशव्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० रुपैयाँ कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौथो स्थानमा छ । ‘सिनेपा २ बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ४६ करोड ८७ लाख रुपैयाँको कमाइ गर्दै ‘पूर्णबहादुरको सारङ्गी’ पहिलो स्थानमा, २१ करोड ४० लाख रुपैयाँको कमाइ गर्दै ‘कबड्डी ४ः द फाइनल म्याच’ दोस्रो स्थान, १९ करोड ९२ लाख रुपैयाँ कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ । साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औँ पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ ले उक्त सफलता पाएका थिए ।















