खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् । ‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो ।
आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै देउवाकहाँ छ,’ थापाले भने । गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ मा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पती त्यसपछि उपचारका लागि विदेश गएको थियो । विदेशबाट एक महिनापछि फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुनः पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।
















