फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा एमाले विश्वस्त छैन : पौडेल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । बुटवलमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् । निर्भयताका साथ निर्वाचन गराउन आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई उनले सचेत पनि गराए । उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा सम्पन्न गराउन गर्नुपर्ने मुख्य काममा सरकारको ध्यान नगएको उनले टिप्पणी गरे ।
निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनुपर्नेमा उनले जोड दिए । एमाले सधैँ निर्वाचनका पक्षमा रहेको समेत उनले बताए । तोकिएको मितिमा निर्वाचन हुन्छ भन्ने कुरामा हामी अझै पनि विश्वस्त हुन सक्दैनौँ । किनभने, निर्वाचन तोकिएकै मितिमा होस्, तर भयरहित वातावरणमा निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन होस्, सबै मतदाताहरूले निर्भयताका साथ निर्वाचनमा भाग लिन सकून्, सबै राजनीतिक दलहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्न सकून् भन्ने हाम्रो चाहना हो । तर, त्यो चाहना पूरा गर्नुपर्ने हिसाबले गर्नुपर्ने कामहरू अहिले पनि भइरहेका छैनन् । सरकारले निर्वाचनको तयारी राम्रोसँग अघि बढाओस् । निर्वाचनसँग जोडिएका यावत् कामहरू राम्रो अघि बढाओस् ।
















