‘ब्याज तिर्नुस्, भन्न जाँदा दाङमा बैंकका कर्मचारीलाई भण्डारी सप्लायर्सका सञ्चालकले कुटे

काठमाडौं । दाङको घोराहीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । पुस २० गते आइतबार बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा ऋणी भण्डारी सप्लायर्समा पुगेका थिए । भण्डारी सप्लायर्सका सञ्चालकले लिएको करिब ५० लाख रुपैयाँ ऋणको ब्याज नियमित नभएपछि बक्यौता ब्याज असुलीका लागि बैंकका कर्मचारी आइतबार भण्डारीको घरमा पुगेका थिए । त्यसक्रममा फर्म सञ्चालकले ब्याजका लागि तोकेता गर्न आएका कर्मचारीलाई सुरुमा धकेल्दै पछाडि लगेको र पछि कुटपिट समेत गरेका छन् । ‘धेरै ठूलो लोन होइन, ब्याज नियमित गर्न हाम्रा एक कर्मचारी कम्पनीमा पुगेका थिए तर सञ्चालकले कुरा गर्दा गर्दा ढोकैबाट लखेट्दै, पछाडि ठेल्दै ठेल्दै ल्याएछन्, कुटपिट भएछ । उहाँको आँखा छेउमा चोट पनि लागेको छ, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भने । पाण्डेले पछिल्लो समय ऋणीले कर्जाको किस्ता तिर्ने प्रवृत्ति परिवर्तन भएको अनुभव सुनाए ।

‘पहिला पहिला फलोअप त्यति धेरै चाहिँदैनथ्यो । अहिले त किस्ताका लागि पनि फलोअप गर्नु परेको छ, फलोअप गर्न जाँदा पनि यस्तो व्यहार भयो, पाण्डे भन्छन्, ‘ऋणीमा सकेसम्म तिर्न नपरे हुन्थ्यो भन्ने ‘एटिट्युड विकास भएको छ । सुरुमा नियमित रुपमा बैंकको ऋण र ब्याज तिर्ने गरेको भएपछि पछिल्लो केही समयदेखि ताकेता गर्दा ब्याज तिर्दै आएको बैंकले जनाएको छ । तर पछिल्लो पटक ब्याज तिर्न ताकेता गर्न जाँदा भण्डारी सप्लायर्सका सञ्चालकले बैंकका कर्मचारीमाथि कुटपिट गरेका हुन् । दुर्गा प्रसाई लगायतका समूहहरुले पछिल्लो समय बैंकहरुको ऋण असुलीमा नै समस्या बनाएका छन् । उनीहरूका गतिविधिले कर्मचारीमाथि मनोवैज्ञानिक दबाब बढाएको छ । मंसिरमा ज्योति विकास बैंकका कर्मचारीलाई प्रसाईं समर्थित समूहको सहयोगमा ऋणीले कालोमोसो दलेर गालीगलौज तथा कुटपिट गरेका थिए ।

बारम्बार यस्ता घटना भइरहँदा पनि गृह प्रशासन भने मौन रहँदै आएका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कर्मचारीमाथि हातपात भएपछि प्रसाई समर्थित समूहका कार्यकर्ताले ‘आज दाङको घोराहीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका म्यानेजरले ऋणीलाई अनावश्यक टर्चर दिएपछि, ऋणीले म्यानेजरको नाकको डाँडी भत्काएका छन्, भनेर लेखेका थिए । यस्तो घटनाले बैंकरहरूको मनोबल निकै कमजोर भएको छ । कर्मचारीमाथि कुटपिट भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले गभर्नर डा. विश्वनाथ पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारीमाथिको आक्रमण र दुर्व्यवहार बन्द नभए तालाचाबी बन्द गर्ने चेतावनी दिएको छ । सोमबार कर्मचारी युनियनले कर्मचारीमाथिको आक्रमण बन्द नभए बैंकको शाखा बन्द गरी तालाचाबी राष्ट्र बैंक र अर्थमन्त्रालयमा बुझाउँदै धर्नामा बस्ने चेतावनी दिएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेकाअनुसार प्रहरीले पनि सहयोग गरेर कुटपीट गर्ने ऋणीमाथि कारबाही अगाडि बढेको बताउँछन् । कर्मचारीमाथि निरन्तर आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियन र नेपाल बैंकर्स संघबीच बुधबार छलफल हुन लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *