करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ​​​​एकै वर्ष साढे ७ अर्ब आम्दानी

काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सले एक वर्षमै साढे ७ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले छोटो समयमै ठूलो व्यावसायिक छलाङ मारेको देखिन्छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७३ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ९५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष निरन्तर उकालो लागिरहेको देखिन्छ । यशोदा फुड्सले नुडल्स, फ्राइड स्न्याक्स तथा भुजियाको बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा भएको आम्दानी वृद्धि नुडल्स र स्न्याक्स दुवै खण्डको हो । कम्पनीले अवलम्बन गरेको उत्पादन विविधिकरण रणनीतिले सकारात्मक नतिजा देखाउन थालेको जनाएको छ । रुपन्देहीको तिलोत्तमा–१५ मा उत्पादन केन्द्र रहेको कम्पनीले नुडल्स तथा स्न्याक्स उत्पादन गर्दै आएको छ । विसं २०८१ असारमा यशोदा फुड्सले आफ्नै पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एण्ड स्न्याक्सलाई मर्जर गरेर उत्पादन क्षमता बढाएको थियो । मर्जरपछि वार्षिक उत्पादन क्षमता नुडल्सको ४२ हजार मेट्रिक टन र स्न्याक्सको ४ हजार ५ सय मेट्रिक टन पुगेको कम्पनीले जनाएको छ । यशोदा फुड्सको अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन् । विभिन्न संस्थामा अध्यक्ष तथा सञ्चालकको भूमिकामा रहेका शर्मासँग व्यवसायीक क्षेत्रमा चार दशकको अनुभव छ । उनी सोना प्याकेजिङ इन्डस्ट्रिजका पनि अध्यक्ष हुन् । यस्तै, यशोदा फुड्सको कार्यकारी निर्देशकको रूपमा जीपी शाह छन् । शाहले अन्तर्राष्ट्रिय रणनीति तथा व्यवसाय विस्तारको जिम्मेवारी सम्हाल्दै आएका छन् । मर्जरपछि कम्पनीको आम्दानी बढेतापनि ब्याज, लीज, ह्रासकट्टि र कर अघि नाफा ९पीबीआईएलडीटी० मार्जिन भने घटेको देखिन्छ । अघिल्लो वर्ष ११।४३ प्रतिशत रहेको पीबीआईएलडीटी गत वर्ष घटेर ७।४३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष कम्पनीले ३० करोड रुपैयाँ बराबर लाभांश वितरण गरेको छ भने सञ्चित नाफा ४४ करोड ३० लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्बभन्दा बढी ऋण लिएको छ । कम्पनीका अनुसार ५० करोड ८० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब २० करोड ८३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको छ । जबकि यसअघि सन् २०२४ मा कम्पनीले २ अर्ब रुपैयाँ मात्रै लिएको थियो । यशोदा फुड्सले सबै प्रदेशमा आफ्नो बजार उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीका अनुसार अधिकांश प्रमुख सहर तथा नगरमा कम्पनीका उत्पादन उपलब्ध हुँदै आएको छ । कम्पनीसँग देशभर करिब ३०० अधिकृत वितरक छन् भने डिपार्टमेन्ट स्टोर तथा सुपरमार्केटमा पनि कम्पनीका उत्पादनहरू उपलब्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न ब्रान्डमा आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ, जसमा करेन्ट ब्रान्ड छोटो अवधिमै अत्यन्त लोकप्रिय बनेको छ । यसका साथै कम्पनीले भारत तथा अन्य देशमा पनि आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ । सन् २०२५ मा निर्यातबाट प्राप्त आम्दानी कुल आम्दानीको करिब १२ प्रतिशत हिस्सा रहेको कम्पनीले दाबी गरेको छ । यसले कम्पनीको अन्तर्राष्ट्रिय बजारमा समेत उपस्थिति बलियो बन्दै गएको संकेत गरेको छ ।यशोदा फुड्सले नुडल्स तथा स्न्याक्स उत्पादनका लागि कच्चा पदार्थ स्वदेशमै खरिद गरिरहेको छ । यससँगै भारत, मलेसिया र इन्डोनेसियाबाट समेत कच्चा पदार्थ आयात गर्दै आएको छ । निरन्तर तथा सहज उत्पादन सञ्चालन गर्न कम्पनीले पर्याप्त भण्डारण राख्ने गरेको छ । कम्पनीले करिब एकदेखि डेड महिनासम्मका लागि भण्डारण राख्ने गरेको जनाएको छ । यशोदा फुड्सका प्रमुख कच्चा पदार्थहरूमा गहुँको पीठो, पाम तेल र पामोलिन तेल हुन् । गत वर्ष कच्चा पदार्थ खर्च कुल सञ्चालन आम्दानीको करिब ८२ प्रतिशत हिस्सा रहेको कम्पनीले जनाएको छ । इन्स्ट्यान्ट नुडल्सको माग पछिल्ला तीन दशकदेखि निरन्तर रूपमा बढ्दै आएको छ । कम्पनीका अनुसार नास्ता र भोजनबीचको विकल्पका रूपमा रहने इन्स्ट्यान्ट नुडल्सले सजिलो, छिटो र विविध प्रयोगको सुविधा प्रदान गर्दछ । वर्ल्ड इन्स्ट्यान्ट नुडल्स एसोसिएसनका अनुसार नेपाल प्रतिव्यक्ति नुडल्स उपभोगका हिसाबले विश्वमै अग्रणी देशमध्ये एक हो । कम्पनी अत्यधिक नियमनयुक्त उद्योगमा सञ्चालन हुँदै आएको छ, जहाँ नुडल्स तथा स्न्याक्सजस्ता तयार उत्पादनहरूमा लगाइने सुरक्षात्मक आयात शुल्कले सस्तो आयातित वस्तुहरूविरुद्ध प्रतिस्पर्धात्मक लाभ प्रदान गर्दै आएको छ । तर, यस्ता नीतिगत व्यवस्थामा प्रतिकूल परिवर्तन आएमा कम्पनीको व्यवसायिक सम्भावनामा उल्लेख्य असर पर्न सक्ने जनाएको छ । साथै पामोलिन तेल र गहुँजस्ता आयातित कच्चा पदार्थमा निर्भरता रहेकोले कम्पनी विश्वव्यापी वस्तु मूल्य उतारचढाव तथा आपूर्ति शृंखला अवरोधले पनि व्यवसायमा असर पर्न सक्ने जनाएको छ । नुडल्सको बढ्दो मागसँगै नयाँ कम्पनीहरूको प्रवेश बढ्नुका साथै स्थापित ठूला कम्पनीहरूले पनि बजार हिस्सा बढाउन उत्पादन विस्तार गरेका छन्, जसका कारण बजार अत्यधिक प्रतिस्पर्धात्मक बनेको छ । पछिल्ला वर्षहरूमा बजारमा धेरै नयाँ खेलाडी प्रवेश गरेका छन्, जसमा यशोदा फुड्स पनि एक हो । नुडल्स बजारमा आकर्षक उत्पादनसहित नयाँ प्रतिस्पर्धी प्रवेश गर्ने जोखिम सधैं उच्च रहने देखिएको छ । साथै, उद्योगको विखण्डित र प्रतिस्पर्धात्मक स्वरूपका कारण नुडल्स उत्पादकहरूको मूल्य निर्धारण क्षमता तुलनात्मक रूपमा कमजोर रहेको छ । यद्यपि, कम्पनीले सन् २०२५ डिसेम्बरमा नेपालको पहिलो ‘ग्रीन नुडल्स’ उत्पादन इकाइ सञ्चालनमा ल्याएको छ, जसलाई ८६५ केडब्ल्यूपी क्षमताको रूफटप सोलार प्लान्टले समर्थन गर्दै करिब ८० प्रतिशत ऊर्जा आवश्यकता पूर्ति गर्ने व्यवस्था गरिएको छ । यस कदमले दिगो उत्पादन अभ्यासतर्फ कम्पनीको अग्रसरता रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *