गरिमा क्यापिटलले “गरिमा सुवर्ण योजना” निष्कासन गर्ने, सेबोनबाट स्वीकृति प्राप्त

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्द्धित पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ। बोर्डले मिति २०८२ साल माघ २१ गते उक्त योजनालाई निष्कासनको अनुमति दिएको हो। रु. १ अर्ब बराबरको आकार रहेको “गरिमा सुवर्ण योजना” खुलामुखी प्रकृतिको सामूहिक लगानी कोष हो, जसअन्तर्गत प्रथम चरणको प्रारम्भिक निष्कासनमा बीज पूँजीसहित कुल ५ करोड इकाई सार्वजनिक गरिनेछ। यस योजनाको प्रति इकाई मूल्य रु. १० कायम गरिएको छ।

कुल निष्काशनमध्ये न्यूनतम ५० प्रतिशत अर्थात् २ करोड ५० लाख इकाई बिक्री हुनुपर्ने व्यवस्था रहेको छ। योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। खुलामुखी योजनाका रूपमा सञ्चालन हुने भएकाले यस योजनाको निश्चित अवधि तोकिएको छैन र लगानीकर्ताले निरन्तर रूपमा इकाई खरिद तथा बिक्री गर्न सक्नेछन्। यद्यपि, यस योजनाका इकाईहरू नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण तथा दोस्रो बजारमा कारोबार हुने छैनन्। योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडद्वारा सञ्चालन गरिने अनलाइन प्रणालीमार्फत इकाई खरिद–बिक्रीको व्यवस्था मिलाइनेछ। गरिमा सुवर्ण योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ रहेको छ भने निष्काशन तथा बिक्री प्रबन्धक, योजना व्यवस्थापक तथा डिपोजिटरीको भूमिका गरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँले निर्वाह गर्नेछ। योजनाका कोष सुपरिवेक्षकका रूपमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरू नियुक्त गरिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *