नक्कली नोटबारे सचेत रहन राष्ट्र बैंकको आग्रह : यसरी चिन्न सकिन्छ सक्कली वा नक्कली

काठमाडौं । नेपाल राष्ट्र बैंक ले नक्कली नोटको प्रयोग र कारोबार बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सन्देशमा नक्कली नोट पहिचान गर्ने विभिन्न उपाय अपनाउन सबैलाई अनुरोध गरिएको छ। राष्ट्र बैंकका अनुसार नक्कली नोट प्रयोग, ओसारपसार तथा कारोबार गर्नु कानुनी रूपमा अपराध हो । आर्थिक कारोबार गर्दा बैंक तथा वित्तीय संस्थामा मात्र भरोसा गर्न, अपरिचित स्रोतबाट प्राप्त नोटबारे सचेत रहन र शंकास्पद नोट भेटिएमा नजिकको प्रहरी कार्यालय वा बैंकमा जानकारी गराउन सुझाव दिइएको छ ।
कसरी हुने सचेत ?
राष्ट्र बैंकले सर्वसाधारणलाई नोट जाँच गर्दा “हेर्ने, छाम्ने, डुलाएर हेर्ने र मेसिनबाट परीक्षण गर्ने” विधि अपनाउन आग्रह गरेको छ। पहिलो चरणमा नोटलाई प्रकाशतर्फ राखेर हेर्दा पानीछाप (वाटरमार्क), ‘सि थ्रु रजिष्ट्रर’ जस्ता विशेषता प्रष्ट देखिनुपर्ने हुन्छ । यदि यस्ता चिन्ह स्पष्ट नदेखिएमा नोट शंकास्पद हुन सक्छ। दोस्रो चरणमा नोट छाम्दा छापिएको भाग उठेको (इन्टाग्लियो) महसुस हुनुपर्छ । दृष्टिविहीन व्यक्तिका लागि राखिएका विशेष चिन्ह पनि स्पष्ट हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ। तेस्रो चरणमा नोट डुलाएर हेर्दा सुरक्षा धागो (सेक्युरिटी थ्रेड), रंग परिवर्तन हुने मसी (इरिडिस्सेन्ट इन्क) तथा केही भागको रंग परिवर्तन हुने विशेषता देखिन्छ। त्यस्तै, अल्ट्रा भायोलेट लाइटमा जाँच गर्दा सगरमाथाको आकृति, नोट नम्बर तथा अन्य सुरक्षा चिन्हहरू देखिने गर्छ।
पाँच सय र एक हजार दरका नोटमा विशेष सुरक्षा
राष्ट्र बैंकले ५०० र १००० दरका नेपाली नोटमा थप सुरक्षात्मक विशेषता समावेश गरिएकाले ती चिन्हहरूबारे जानकारी राख्न आग्रह गरेको छ । सुरक्षा धागोको रंग परिवर्तन, नोटको विभिन्न भागमा लुकेका चिन्ह तथा यूभी लाइटमा देखिने विशेषता जस्ता उपायले नक्कली नोट पहिचान गर्न सहज हुने जनाएको छ ।
शंकास्पद नोट भेटिए के गर्ने ?
सर्वसाधारणले शंकास्पद नोट पाएका अवस्थामा आफूले प्रयोग नगरी नजिकको बैंक वा प्रहरीमा बुझाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ । नक्कली नोट प्रयोग गर्ने वा जानाजानी कारोबार गर्ने व्यक्ति कानुनी कारबाहीको दायरामा आउने भएकाले नागरिक सचेत रहनुपर्नेमा जोड दिइएको छ। राष्ट्र बैंकले “सजग नागरिक बनौं, सुरक्षित कारोबार गरौं” भन्ने सन्देशसहित वित्तीय साक्षरता अभिवृद्धि गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *