एन्फा र खेलाडी संघबीच सहमति भएपछि ताला खुल्यो, ए डिभिजन लिग चैत्र ३० देखी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति भएको छ । सहमति भएपछि एन्फामा लगाएको तालाबन्दी खोलिएको छ । अब आगामी चैत्र ३० गतेदेखि सहिद स्मारक ए डिभिजन लिग सुरु गर्ने भएको छ । फुटबल खेलाडी संघले राखेको तीनबुँदे सहमति कार्यान्वयन गर्न एन्फा पदाधिकारीहरू सहमत भएपछि दुई दिनअगाडि एन्फाको मूल ढोकामा लगाएको ताला खुलेको हो । ताला खुलेपछि दुवै पक्षले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलाडी संघका अध्यक्ष विक्रम लामाले भने, “विगतमा पनि बारम्बार सहमति भएको थियो । तर, त्यो मौखिक मात्र भएकोले कार्यान्वयन भएन । तर, यसपालि लिखित सहमति भएको छ । त्यसैले हामीलाई विश्वास छ अब एन्फाले त्यसमा धोका दिने छैन । फुटबल संघले गत आइतबार एन्फाले आफ्ना मागहरू पूरा नगरेको र बेवास्ता गरेको जनाउँदै मुख्यालयमा तीनबुँदे मागसहित अनिश्चितकालीन तालाबन्दी गरेको थियो । लिखित सम्झौताअनुसार खेलाडी संघको मागबमोजिम चैत्र ३० गतेबाट ए डिभिजन लिग हुनेछ भने अर्को वर्षको वैशाख २० गतेसम्म त्यसले निरन्तरता पाउनेछ । त्यसैगरी थ्री नेसन्स कपको टिकटबाट उठेको पैसाको कबोल गरेको रकम यथाशीघ्र खेलाडी कल्याणकारी कोषमा राख्न एन्फा राजी भएको छ । त्यसबाहेक तेस्रो बुँदाको रूपमा रहेको विगतमा खेलाडीहरूको पुरस्कार रकम र विभिन्न समयमा खेलाडीहरूलाई दिनुपर्ने भत्ता रकम पनि चैत्रबाट क्रमशः दिँदै जाने सहमति एन्फाले गरेको छ । यी सहमतिहरू भएपछि खेलाडी संघका अध्यक्ष लामा, उपाध्यक्ष विकेश कुथु, संघका अधिकारीहरू र एन्फा महासचिव किरण राईको रोहवरमा ताला खोलिएको थियो । यसैबचि ए डिभिजन क्लबका पदाधिकारीहरूले भने सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्नुअगाडि एन्फाले क्लबसँग लिखित सम्झौता गरेका मागहरू पूरा गर्नुपर्ने बताएका छन् । एन्फाका पूर्वअध्यक्ष समेत रहेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “क्लबहरू जुनसुकै बेला लिग खेल्न तयार छ । तर त्यसका लागि एन्फाले क्लबसँग लिग सञ्चालनका लागि गरिएको १४ बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।” एन्फाले गरेको सहमतिमा क्लबहरूलाई होम ग्राउन्ड दिनेदेखि क्लब लाइसेन्सिङसम्मका विषयहरू छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *