लक्ष्मी महिला सहकारीको २८औँ वार्षिकोत्सव

काभ्रे । पनौतीमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८औँ वार्षिक उत्सव मनाएको छ। संस्थाको प्राङ्गणमा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, प्रारम्भिक चरणका सदस्यहरू, वर्तमान सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। औपचारिक सत्र राष्ट्रिय गानबाट सुरु भई अध्यक्ष, संस्थापक अध्यक्ष र निवर्तमान अध्यक्षको संयुक्त दीप प्रज्वलनबाट उद्घाटन गरिएको थियो। त्यसपछि पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरूले २८ वटा दीपमा पालैपालो दीप प्रज्वलन गर्दै वार्षिकोत्सवलाई प्रतीकात्मक रूपमा मनाएका थिए। कार्यक्रमको सञ्चालन प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कविता कार्कीले व्यक्त गरेकी थिइन्। स्वागत भाषणका क्रममा उनले संस्थाको वित्तीय अवस्था प्रस्तुत गर्दै हाल ३६०० शेयर सदस्यबाट करिब ३ करोड २० लाख रुपैयाँ शेयर संकलन भएको, करिब ३० करोड रुपैयाँ बचत रहेको र २३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी भएको जानकारी दिइन्। संस्थाले कुल ३६ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गर्न सफल भएको उनले उल्लेख गरिन्। उनका अनुसार संस्था सुशासन र नियमको पूर्ण पालना गर्दै कर्जा जोखिम कोष व्यवस्थापनमा सक्रिय छ भने सदस्यहरूलाई सहज ब्याजदरमा ऋण प्रवाह गर्दै आएको छ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मैया महतले संस्थाको उपलब्धिप्रति गर्व व्यक्त गर्दै सञ्चालक समिति मर्यादित, कर्मचारी अनुशासित र सेवा सदस्यकेन्द्रित हुनुपर्नेमा जोड दिइन्। उनले विगतमा महिलाहरूका लागि आर्थिक अवसर सीमित रहेको अवस्थामा सहकारीले खेलेको भूमिकाको स्मरण गर्दै यसको निरन्तरता र पुस्तान्तरण आवश्यक रहेको बताइन्। संस्थापक अध्यक्ष तिर्थमाया प्रधानले २८ वर्षे यात्रालाई स्मरण गर्दै महिलाको सक्रियताबाट स्थापना भएको संस्था जिल्ला तथा प्रदेशस्तरमै पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गरिन्। प्रारम्भिक चरणका चुनौतीहरू पार गर्दै अघि बढेको संस्थाले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका नकारात्मक गतिविधिबाट पाठ सिक्दै अझ सुदृढ सुशासन अपनाउनुपर्नेमा उनले जोड दिइन्। कार्यक्रमको समापनमा अध्यक्ष हिमाली श्रेष्ठले अग्रजहरूका सुझावलाई आत्मसात् गर्दै संस्था अनुशासित र सन्तुलित ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले सदस्यहरूको विश्वासलाई केन्द्रमा राख्दै संस्थाको दिगो विकासमा निरन्तर लाग्ने बताए। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण शेयर सदस्य, समिति तथा उपसमिति सदस्य, कर्मचारी र शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *