सामसङ नेपालद्वारा वैदेशिक रोजगारीमा रहेका परिवारका लागि रेमिटमा बेनिफिट अभियानको घोषणा
काठमाडौँ । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै रेमिटमा बेनिफिट नामक विशेष उपभोक्ता अभियान सुरु गरेको छ। सपनादेखि सम्भावनासम्म भन्ने मूल नाराका साथ ल्याइएको यस पहलले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। विदेशमा रहेका नेपालीहरूको त्याग र परिश्रमलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि प्रिमियम प्रविधिमा सहज पहुँच पुऱ्याउनु यस अभियानको मुख्य उद्देश्य हो। अभियानअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। जसमा स्मार्टफोन, टेलिभिजन, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ। साथै, एनसेल रिचार्जमा अधिकतम १८० जीबीसम्मको बोनस डेटा र २४ महिनासम्मको सहज किस्ताबन्दी सुविधा समेत उपलब्ध गराइएको छ। यी सुविधाहरूले परिवारको मासिक खर्चको भार कम गर्दै गुणस्तरीय उत्पादनहरू खरिद गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ। यो अभियानलाई प्रभावकारी बनाउन सामसङले आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेड जस्ता प्रमुख साझेदारहरूसँग रणनीतिक सहकार्य गरेको छ। यस अफरको लाभ लिनका लागि ग्राहकले आईएमई रेमिटमार्फत रकम प्राप्त गरेको कन्ट्रोल नम्बरसहित स्टोरमा जानुपर्नेछ। त्यहाँ आफूलाई मनपर्ने डिभाइस छनोट गरी एचएफएलमार्फत ऋण आवेदन दिन, एनसेलको बोनस प्याक लिन र खल्तीमार्फत क्यासब्याक प्राप्त गर्न सकिने प्रक्रिया तय गरिएको कम्पनीले जनाएको छ । अभियानको शुभारम्भ गर्दै सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डिरेक्टर प्रणय रत्न स्थापितले रेमिट्यान्स लाखौँ नेपालीहरूको आशा र आकांक्षाको प्रतिबिम्ब भएको बताए। उनले विदेशमा काम गर्ने नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि नवप्रवर्तनात्मक प्रविधिलाई अझ पहुँचयोग्य र किफायती बनाउन सामसङ प्रतिबद्ध रहेको उल्लेख गरे। यो विशेष अफर आईएमई रेमिटमार्फत कारोबार गर्ने रेमिटर र उनीहरूका आश्रित परिवारका लागि मात्र उपलब्ध रहने कम्पनीले स्पष्ट पारेको छ।















