अल्का हस्पिटलले एकैवर्ष गर्यो १ अर्बको कारोबार, सर्जिकल युनिट बनाउँदै
काठमाडौं । उत्कृष्ट सेवा सुविधा दिदै आएको अल्का हस्पिटलले एकै वर्ष करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ । हस्पिटलले गत आर्थिक वर्षमा ९७ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो । हस्पिटलले सन् २०२४ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । हस्पिटलको कारोबार गत आवमा २९ प्रतिशतले बढेको जनाएको छ । हस्पिटलअनुसार गत आवमा बिरामीको संख्या बढ्न जाँदा कारोबार बढेको उल्लेख छ । हस्पिटलको कारोबार बढेसँगै करसहित ८ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको कुल नगद सञ्चय पनि १० करोड ३० लाख रुपैयाँबाट बढेर १३ करोड १० लाख रुपैयाँ पुगेको छ । हस्पिटलले गरेको कारोबारमध्ये ७८ प्रतिशत हिस्सा हस्पिटलबाट भएको जनाएको छ । त्यसैगरी १८ प्रतिशत फार्मेसी, क्यान्टिन र अन्य र ०.७५ प्रतिशत नर्सिङ कलेजबाट आम्दानी भएको उल्लेख छ । सन् १९९५ देखि अल्का फार्मेसीबाट कारोबार सुरु गरेको कम्पनीले आफ्नो क्षमतालाई विस्तार गरी सन् २००२ मा अल्का पोलिक्लिनिकमा रुपान्तरण गरेको थियो । पुन कम्पनीले सन् २००५ मा नाम परिवर्तन गरी अल्का हस्पिटल राखेको थियो ।
हस्पिटलले डाइगोस्टिक, नेफ्रोलोजी, प्लास्टिक सर्जरी, होल्मोलियम लेजर इन्यूक्लेसन अफ द प्रोस्टेट, लापारोस्कोपिक प्रोसिडर, फ्यामेली हेल्थकेयर र एड्भान्स अर्थोपेडिक इन्टरभेन्सन जस्तै– कम्मर घुँडा, र जोइन्ट रिप्लेसमेन्ट सर्जरीलगायतका अन्य सुविधाको सेवा दिँदै आएको छ । हस्पिटलले २० करोड रुपैयाँ लगानी थप गरी सर्जिकल युनिटको विस्तार गर्ने भएको छ । हस्पिटलको क्षमता विस्तारका हस्पिटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड ५३ लाख रुपैयाँको रेटिङ गराएको छ । हस्पिटलले दीर्घकालीन कर्जाका लागि ७१ करोड ३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो । हस्पिटलको अध्यक्ष तिलकबहादुर थापा हुनुहुन्छ । हस्पिटलको युनिट जावलाखेल र भनीमण्डलमा छन् । नर्सिङ कलेज भने धोबीघाटमा रहेको छ ।
















