बारले भोलि दिउँसै लालटिन बालेर न्याय खोज्ने

काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरु दर्ता गर्न अस्वीकार गरेको विरोधमा भोलि जेठ ५ गते न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ । सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गरेको छ । बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको हो । सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरु दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ । संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी सम्माननीय कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिए पनि प्रशासनले अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ । यस्तै सोही विषयमा समेत आज प्रतिनिधि सभामा कतिपय माननीय सदस्यहरुले गरेको टिप्पणीमा समेत बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारको निर्णयमा भनिएको छ, ‘‘मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेबाए प्राङ्गणमा लालटीन बाली अदालतको प्रशासनको उपरोक्तानुसारको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोध सहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने ।

बारले दरपीठ उपरको निवेदन विनाकारण दर्ता नगरी राख्ने बिषय प्रशासनको अधिकार बाहिर न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य रहेको ठहर गरेको छ । बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘‘असाधारण र अप्राकृतिक’’ भनेको छ । उक्त बिषय अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानुन आकर्षित हुने घटना समेत रहेको बारको निर्णयमा उल्लेख छ । साथै, अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न बन्देज गर्ने संविधानको धारा १०५ को प्रावधानलाई नजरअन्दाज गरिएको पनि निर्णयमा जनाइएको छ । ‘‘आवेश प्रेरित एवम् दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेबाए स्पष्ट छ,’’ बारले भनेको छ । यस्ता मन्तव्यहरु संसदीय अभिलेखबाट हटाउन र पुनः यस्ता घटनाहरु दोहोरिन नदिन स्पष्ट आदेश हुन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण पनि गराइएको छ । बारले आफ्ना सल्लाहकार एवम् एकाइबाट प्राप्त सुझाव अनुसार थप कार्यक्रमहरु सञ्चालन गर्दै जाने पनि जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *