एमालेले १० महिनामा उल्ट्यायो पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी निर्णय
काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतासम्बन्धी निर्णय १० महिनामा उल्टाएको छ । सोमबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता दिने निर्णय गरेको छ । यसअघि २०८२ साउन ६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीले ११औँ महाधिवेशनमा पार्टी नेतृत्वमा आउने तयारी गरेपछि सदस्यता नवीकरण नगर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णय सुनाएका थिए । भण्डारीको सदस्यता नवीकरण नगर्ने ओलीको निर्णयसँगै कतिपय नेताहरूले नेतृत्वको कार्यशैलीलाई लिएर विरोध जनाएका थिए । विरोधमा उत्रिएका अधिकांश नेता अहिले केन्द्रीय कमिटीमा समेटिएका छैनन् ।















