अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले १२२ रनको शानदार जित निकालेको छ । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो । अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । शयान जहांगिर २७, शेहान जयसुरिया २६, कप्तान शैतेजा मुक्कामुल्ला २२, मिलिन्द कुमार १२, शुभम रन्जने २, शौरभ नेत्रभाल्कर १०, नेत्र केन्जिगे २९ रन तथा हर्मित सिंह र स्मित पटेल कुनै पनि रन नजोडी आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २-२, सोमपाल कामीले एकएक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे । बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *