महिन्द्राको २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिकअप सार्वजनिक

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको अग्नि इन्कर्पोरेटेडले नेपालकै पहिलो तथा एकमात्र २ टन भार क्षमता भएको पिकअप ‘महिन्द्रा बोलेरो म्याक्स’ सार्वजनिक गरेको छ। चितवनको कुरिनटारस्थित महिन्द्राको शोरुममा विशेष सार्वजनिक समारोहमार्फत नयाँ पिकअप सार्वजनिक गरिएको हो । समारोहमा प्रमुख अतिथि मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक सिंह तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । क्षेत्रीय बजारहरूमा सार्वजनिक गर्दै नेपालका अन्य मुख्य व्यापारिक शहरमा पनि लगत्तै गाडी सार्वजनिक गरिने योजना रहेको कम्पनीले जनाएको छ । भार क्षमता (पेलोड), इन्धन दक्षता, सुरक्षा तथा समग्र ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्दै बोलेरो म्याक्स पिकअपले नेपाली बजारका २ टन कमर्सियल गाडी सेग्मेन्टमा नेतृत्वदायी स्थानलाई सुदृढ बनाउने कम्पनीको भनाइ छ । नेपालमा ग्राहकका लागि यो पिकअपका दुई हेभीड्युटी भेरियन्टमा उपलब्ध छ ।

एउटा भेरियन्ट एचडी १.७ एलएक्सको विशेष सार्वजनिक मूल्य २९ लाख ९५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । अर्को भेरियन्ट एचडी २.० लि. एसएक्सआईको मूल्य ३२ लाख ९५ हजारबाट सुरु हुन्छ । यी भेरियन्ट सामान्य ढुवानीदेखि इन्टरसिटी ढुवानीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । नेपालका उबडखाबड तथा पहाडी सडकमा यात्रा गर्नका लागि यी गाडी ‘साना कमर्सियल सेग्मेन्टमा उत्कृष्ट रोजाइ हुने कम्पनीको दाबी छ । ‘बोलेरो म्याक्सले उच्चस्तरीय, सक्षम, भरपर्दो, सुरक्षित, कार्यकुशल तथा बहुउपयोगी पिकअपका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘यी गुणसँगै कम सञ्चालन खर्चका कारण यो पिकअप चालक तथा व्यवसायीबीच लोकप्रिय बनेको छ । युटिलिटीसँगै सुरक्षा र आरामलाई विशेष ध्यान दिएर डिजाइन गरिएको यस गाडीले साना कमर्सियल गाडीको बजारमा नयाँ आयाम थप्नेछ ।’ डिजेल र सीएनजी दुवै विकल्पमा उपलब्ध यो पिकअपमा महिन्द्राको अत्याधुनिक एम २ डीआई इन्जिन रहेको छ । यसको भार क्षमता १.७ टनदेखि २ टनसम्म रहेको छ भने कार्गोबेड (ढाला) को लम्बाइ १० फिट (३०५० मिमि) सम्म रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *