रास्वपा सचिवालयको बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका लागि सारिएको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर संसद्मा विपक्षी दलका सांसदहरूले विरोध गरेपछि बैठक बस्न ढिलाइ भएको थियो । संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि यसलाई आज बिहानका लागि सारिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । आजको बैठकमा समसामयिक राजनीतिदेखि पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको तयारीसम्मका विभिन्न ९ वटा कार्यसूचीमा छलफल हुनेछ ।
बैठकका मुख्य कार्यसूचीहरू :
१. समसामयिक राजनीति र पार्टी गतिविधिका सम्बन्धमा ।
२. अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन ।
३. अनुशासनात्मक कारबाहीका सम्बन्धमा ।
४. प्रदेश अधिवेशन कार्यविधि सम्बन्धमा ।
५. महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरूका सम्बन्धमा ।
६. महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा ।
७. विधान संशोधन सम्बन्धमा ।
८. सङ्घीय सांसदहरूको पार्टी जिम्मेवारी सम्बन्धमा ।
९. विविध
क. जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा ।
ख. प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५५ बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।
ग. सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा ।














