अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको आवश्यकता : अध्यक्ष कोइराला


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति वर्तमान आर्थिक अवस्थाअनुसार लचकदार र व्यावहारिक बनाउनुपर्ने बताएका छन्। उनले बैंकिङ क्षेत्रलाई सहज बनाउने नीतिले मात्र अर्थतन्त्रमा अपेक्षित चलायमानता आउने धारणा व्यक्त गरेका छन्। आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले बैंकहरू अत्यधिक नाफामुखी भएको भन्ने धारणा वास्तविकताभन्दा फरक रहेको बताएका छन्। उनले बैंकहरूको औसत प्रतिफल करिब ७ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै बैंकिङ क्षेत्र कडा नियमनभित्र सञ्चालन भइरहेको बताए।

उनले खराब कर्जा एनपीए वर्गीकरण तथा प्रोभिजनिङसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन आवश्यक रहेको बताए। हालको व्यवस्थाले बैंक र ऋणी दुवैलाई पर्याप्त समय नदिएकाले आर्थिक गतिविधि प्रभावित भएको उनको भनाइ छ। कोइरालाले समस्याग्रस्त कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउन एसेट म्यानेजमेन्ट कम्पनी स्थापना प्रक्रिया शीघ्र टुंग्याउन आग्रह गरे। साथै, बेस रेट, रिस्क–बेस्ड प्राइसिङ, शुल्क तथा कमिसनसम्बन्धी व्यवस्थामा पनि समयानुकूल सुधार आवश्यक रहेको उनको धारणा थियो। उनले बैंकहरूको व्यावसायिक स्थायित्व कायम राख्न नीतिगत लचकता आवश्यक रहेको उल्लेख गर्दै क्यापिटल तथा डिबेन्चर रिडेम्पसन रिजर्भसम्बन्धी व्यवस्थामा समेत पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *