सार्वजनिक खरिदमा सुशासन र पारदर्शिता अपरिहार्य : मुख्यमन्त्री बानियाँ
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन बेरुजु न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। बागमती प्रदेश सुशासन केन्द्र, जावलाखेलद्वारा आयोजित ‘सार्वजनिक खरिद व्यवस्थापन तथा बेरुजु सम्परीक्षण’ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सार्वजनिक खरिदका क्रममा हुने बेरुजु घटाउन यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले सुशासन कायम गर्न तथा सार्वजनिक खर्चलाई व्यवस्थित बनाउन निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै बागमती प्रदेशको बेरुजु अवस्था अन्य धेरै प्रदेशको तुलनामा न्यून रहेको बताए।

मुख्यमन्त्री बानियाँका अनुसार उपलब्ध तथ्यांकले कोशी प्रदेशको बेरुजु २.६४ प्रतिशत, मधेश प्रदेशको ३.७७ प्रतिशत, बागमती प्रदेशको ०.८३ प्रतिशत, गण्डकी प्रदेशको १.४८ प्रतिशत र लुम्बिनी प्रदेशको २.२१ प्रतिशत रहेको देखाउँछ। उनले पेश्की बेरुजु समेत थप प्रभावकारी रूपमा व्यवस्थापन गर्न सके प्रदेशको वित्तीय अनुशासन अझ सुदृढ बन्ने धारणा राखे।

सार्वजनिक खरिद प्रक्रियामा हुने कमजोरी न्यूनीकरण गर्दै बेरुजुलाई निराकरणतर्फ लैजान आवश्यक रहेको उल्लेख गर्दै उनले दुईदिने अभिमुखीकरणबाट प्राप्त सुझाव र छलफलले सुशासन प्रवर्द्धन, पारदर्शिता अभिवृद्धि तथा जनताप्रति सरकारलाई थप उत्तरदायी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बागमती प्रदेशसभाका उपसभामुख, प्रदेशसभा सदस्य, प्रमुख सचिव, सरकारी कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।















