‘गौंथली’ ले शनिबार दिउँसोसम्म देशभर कमायो १ करोड २७ लाख
काठमाडौं । फिल्म ‘गौंथली’ ले शनिबार एकैदिनमा १ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेको छ । बक्सअफिस एपमा फिल्मले २ बजेसम्म १ करोड २७ लाख रुपैयाँ ग्रस कमाइ गरेको जानकारी निर्माता सुमन गिरीले दिए । विशेषगरि काठमाडौंदेखि पश्चिमको नेपालगञ्जसम्मका हलमा कपिल रिजाल निर्देशित फिल्मको शनिबारीय अकुपेन्सी उच्च देखिएको छ । यो ‘फुट,फल’ धेरैपछि सम्भव भएको हो । निर्माता गिरीका अनुसार आज शनिबार मध्यरातसम्मको कुल एकदिने कमाइ डेढकरोड रुपैयाँ ग्रससम्म पुग्ने अनुमान छ । प्रदर्शनको ९ दिनसम्मको कूल कलेक्सन भने साढे ६ करोड पुग्ने प्रक्षेपण निर्माता गिरीले गरे ।
सकारात्मक ‘वर्ड अफ माउथ’को गति कायम रहे फिल्मले निकट भविष्यमा १० करोडको आँकडा पार गर्ने आशा निर्माता गिरीको छ । आइतबार समेत सार्वजनिक बिदा भएकाले ‘गौंथली’को कमाइमा बढोत्तरी हुनसक्ने प्रक्षेपण छ । यद्यपि, औपचारिक अंक र विवरण भने चलचित्र विकास बोर्डले सप्ताहन्तपछि सार्वजनिक गर्ने आशा गरिएको छ । यो सोसल ड्रामा फिल्म शुक्रबारदेखि डायस्पोराको ठूलो बजार अमेरिकामा रिलिज भएको छ । त्यहाँका २६ राज्यमा रिलिज भएको फिल्मको ओपनिङको हिसाब आउन बाँकी छ । वरिष्ठ डा. भोला रिजाल र सरला रिजाल आज हलहरुमा जानु भएको थियो ।

















