देवानगञ्ज घटना मत्थर बनाउन पाँचबुँदे संकल्पमा सहमति
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा सर्वपक्षीय छलफलबाट पाँचबुँदे संकल्प पारित गरिएको छ । घटनाका सम्बन्धमा राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज तथा विभिन्न सामाजिक संस्थाका सहभागीले शान्ति एवं अमनचयन कायम गर्न संयुक्त संकल्पमा सहमति जनाएका हुन् । कप्तानगन्जमा भएको पछिल्लो घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना संयुक्त संकल्पमार्फत गरिएको छ । यस्तै, उक्त घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा विस्तार भएको साम्प्रदायिक विवाद र हुलदंगाप्रति गम्भीर दुःख व्यक्त गरिएको छ ।
त्यस्ता अराजक र अवाञ्छित गतिविधि रोक्न आआफ्ना स्थानबाट आवश्यक पहल गर्ने, संकटको घडीमा आक्रोश, प्रतिशोध र क्रोधको भावना नराखी संयम, विवेक र संवादका माध्यमबाट समस्या समाधान गर्नेतर्फ संयुक्त पहल रहने जनाइएको छ । “आमजनसुमदायलाई पनि संयमित रहन आग्रह गर्ने, विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक, उत्तेजक र अराजक विषयवस्तुहरू नराख्ने, सेयर नगर्ने र आमजनसमुदायलाई पनि उत्तेजक र भ्रामक विषयवस्तुहरूप्रति सजग रही आधिकारिक सूचनाको पक्षपोषण गर्ने र भीड र हुलदंगामा कलिला युवाहरू समेत सहभागी देखिएको हुँदा आपसी द्वन्द्व सिर्जना गर्ने यस्ता विषयमा युवाहरूलाई घरबाहिर ननिस्कन, मुठभेडमा नउत्रन एवं संयमता अपनाउन आवश्यक निर्देशन नियमनका निम्ति सम्बद्ध अभिभावकहरूमा अनुरोध गरिने,” संयुक्त संकल्पमा उल्लेख छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले अवस्थालाई सामान्य बनाउन समाजका सबै तह र तप्का उत्तिकै सक्रिय बन्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

















