रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानुनी समस्याले बालेन कामचलाउ भए : सङ्ग्रौला
काठमाडौँ । साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबिचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाईकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उनको तर्क छ । उनले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताए। साहित्यकार सङ्ग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे । इतिहासको सन्दर्भ जोड्दै उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको अभूतपूर्व लहर र दोस्रो निर्वाचनमा त्यो जनमानस एकाएक हराएको प्रसङ्ग उल्लेख गरे । गत फागुन २१ को निर्वाचनको अनुभव सुनाउँदै उनले चितवन र नवलपरासीका मतदाताहरूमा चरम अन्योल देखिएको बताए । संग्रौलाकाअनुसार धेरै मतदाताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गरे पनि उम्मेदवारका रूपमा बालेन्द्र साहलाई बुझेका थिए । चितवन र नवलपरासीभरिका मतदाताले घण्टीमा भोट त हाले तर उम्मेदवार को हो भन्दा बालेन भन्ने गरेका थिए । कर्मको आधार र तार्किकतामा विचार नगर्ने यस्तो प्रवृत्तिलाई उनले गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ संज्ञासँग तुलना गरे । नेतृत्वको परिभाषा गर्दै सङ्ग्रौलाले सफल नेतामा वक्तृत्व कला र आकर्षक एजेन्डा हुनुपर्ने बताए । उनकाअनुसार नेताले आफ्ना एजेन्डा वा भ्रमलाई यसरी प्रस्तुत गर्छ कि सर्वसाधारण उसको वरिपरि केन्द्रित हुन्छन् । नेपालको सन्दर्भमा मदन भण्डारीलाई उनले ‘कस्मेटिक’ नेताको रूपमा चित्रण गरे । जसमा वक्तृत्व, तर्कशीलता र आक्रामकताको अद्भुत मिश्रण थियो ।पछिल्लो समय उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रसङ्गमा टिप्पणी गर्दै सङ्ग्रौलाले भ्रम र यथार्थको सम्मिश्रणबाट आफ्नो वरिपरि ठुलो भीड जम्मा गर्न सफल भएको बताए । यद्यपि, लामिछानेको कानुनी जटिलता (नागरिकता–राहदानी मुद्दा) का कारण उनले कार्यकारी प्रमुखको भूमिकामा बस्न नमिल्ने परिस्थिति सिर्जना भएको उनको विश्लेषण छ । सोही रिक्तता र जनअपेक्षाका कारण बालेन्द्र साह एक विकल्प वा ‘कामचलाउ’ पात्रका रूपमा अगाडि आएको सङ्ग्रौलाले उल्लेख गरे । समाज र राजनीतिबिचको अन्तरसम्बन्धमा केन्द्रित सो कार्यक्रममा सङ्ग्रौलाले नेपाली समाजले विवेकपूर्ण निर्णय लिन नसकेसम्म राजनीतिको स्वरूपमा ठोस परिवर्तन आउन कठिन रहेको सङ्केत गरे ।

















