पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिकता थप उजागर गर्नेछ : उपसभापति शर्मा
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामा पुनरवलोकन गर्न अनुमति दिएपछि उपसभापति विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन् । उनले पुनः परीक्षणबाट विशेष महाधिवेशनको वैधानिकतालाई थप उजागर गर्ने बताएका हुन् । “सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरेर टुंग्याइसकेको विषयमा पुनरवलोकनमा नगएको भए पनि लामो बहसपश्चात न्यायिक निरुपण भइसकेकै थियो,” शर्माले भने, “यद्यपि, पुनः परीक्षणले विशेष महाधिवेशनको ‘वैधानिक तथ्य र राजनैतिक सत्य’लाई थप फराकिलो ढंगले उजागर गर्न पक्कै मद्दत पुर्याउनेछ ।ू शर्माले विशेष महाधिवेशनको तथ्यलाई न्यायलयमा पुनः प्रस्तुत गर्न आफूहरू तयार रहेको पनि बताए ।
“संयम र परिपक्वतासाथ नेपाली कांग्रेसको विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई सम्मानित न्यायालयसमक्ष पुनः प्रस्तुत गर्न हामी विल्कुल स्पष्ट, खुला र तत्पर छौँ,” उनले भने । बिहीबार सर्वोच्च अदालतले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवेदनमा सुनुवाइ गर्दै पुनरावलोकनको अनुमति दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सुनुवाइका लागि ‘निस्सा’ प्रदान गर्ने आदेश दिएको हो । अब कांग्रेसको आधिकारिकता विवादमा पुनः फाइल खुल्ने भएको छ । यसअघि सर्वोच्चले गगन थापा नेतृत्वलाई आधिकारिकता दिनेगरी निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको थियो ।















