मुलुक टुक्रयाउने षडयन्त्र

मुलुक र लोकतन्त्र दुबै गंभीर संकटमा परेको बेला लोकतान्त्रिक आन्दोलनको मियोको रुपमा रहेको नेपाली कांग्रेस फेरी फुटको संघारमा खडा भएको छ । लोकतन्त्रमा राजनीतिक दलहरुभित्र प्रजातान्त्रिक अभ्यास एउटा अनिवार्य अभ्यास हो । बिचार मन्थन,बहस र छलफलले नै दलहरुलाई खारेर योग्य बनाउँछ । पार्टीभित्रको बैचारिक अन्र्तविरोधको श्रंmृखला अवरुद्ध भयो भने पार्टी नेतृत्व तानाशाही बन्छ र राजनीतिक दल निरंकुशताको दलदलमा फस्छ । तर दलभित्रको लोकतान्त्रिक अभ्यासलाई निरपेक्ष ढंगले परिभाषित गर्दा र जहिले पनि अधिकारको मात्र वकालत गर्दा अनुशासनहिनता ,अराजकता र उछृंखलताको राज चल्न थाल्छ । पार्टी विधानद्धारा प्रत्येक सदस्यलाई प्रदत्त अधिकारको अभ्यास जहिले पनि सापेक्ष रुपमा नै गरिनुपर्छ । बस्तुगत अवस्था,पार्टीको हैसियत र समयको मागलाई संवोधन गर्ने गरी पार्टी सञ्चालन भएन भने पार्टी संकटमा पर्ने, आन्दोलनको मैदानबाट बिस्थापित हुने र अन्तत्वगत्वा अस्थित्वको संकटमा फस्ने अवस्था उत्पन्न हुन्छ । नेपाली राजनीतिमा बैचारिक दृष्टिकोणबाट दुई धु्रविय अवस्था विद्यमान छ । बामपन्थि ध्रुवको नेतृत्व कम्युनिष्ट पार्टीले गर्छ भने प्रजातान्त्रिक ध्रुवको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । दुबै दलले मुलुक र लोकतन्त्रको हितमा काम गर्दै आएका छन । मुलुकको प्रजातान्त्रिक आन्दोलनको मियोको रुपमा रहेको कांग्रेसलाई कमजोर पार्न राष्ट्रिय अन्तराष्ट्रिय शक्ति एक भएर लाग्ने गरेको इतिहास छ । जहिले जहिले लोकतन्त्रमाथि संकट आउँछ, त्यसबेला कांग्रेसलाई बिभाजन गराउने,विवादमा उल्झाउने र आन्तरिक समस्यामा फसाउने र लोकतन्त्रलाई समाप्त पार्ने लक्ष्य हाशिल सहज बनाउने कार्य हुँदै आएको छ ।

कांग्रेसलाई कमजोर नबनाई कुनै पनि प्रतिगामी कदम सफल हुन नसक्ने यथार्थलाई राष्ट्रिय अन्तराष्ट्रिय प्रतिक्रियावादी शक्तिले राम्ररी बुझेका छन । त्यही भएर कांग्रेसलाई कमजोर पारेर लोकतन्त्रमाथि आक्रमण गर्न बारम्बार प्रयास हुँदै आएको छ । अहिले लोकतन्त्र डरलाग्दो संकटमा फसेको छ । नागरिकका संविधान प्रदत्त अधिकार खोस्ने निर्णय मन्त्रिपरिषदबाट नै भएर कार्यान्वयनमा लगिएको छ । प्रेस स्वतन्त्रता,संगठन गर्ने स्वतन्त्रता र संगठन स्वतन्त्रतामाथि ठाडो चुनौति खडा गरिएको छ । संयुक्त राष्ट्रसंघको वडापत्रमा नै ग्यारेन्टी गरिएको सम्पत्ति सम्बन्धि अधिकार र नेपालको संविधानले ग्यारेन्टी गरेको आवाजको अधिकारमाथि निर्मम रुपले आक्रमण गरिएको छ । यी प्रतिगामी कदमको डटेर विरोध गर्नु पर्ने बेलामा नेपाली कांग्रेसलाई बिभाजन गराउने, एमालेलाई विवादमा उल्झाउनेर माओवादीभित्रै संकट सिर्जना गर्ने काम भयो । कांग्रेसलाई विशेष महाधिवेशन कै नाममा बिभाजनको बिउ रोपिएको भए पनि अहिले त्यसलाई औपचारिकता दिने काम हुन थालेको छ ।

अहिले कांग्रेसलाई औपचारिक रुपले नटुक्रयाइकन कसैको पनि स्वार्थपूर्ति नहुने भएकाले कांग्रेसलाई दुई टुक्रामा बिभाजन गर्ने कार्यलाई अन्तिम रुप दिने काम हुँदैछ । विशेष महाधिवेशनले बनाएको केन्द्रीय समितिले आधिकारिकता पाएको ६ महिना नबित्दै समानन्तर कमिटी गठन कार्यलाई पूर्णता दिने काम भएको छ । कांग्रेसलाई दुइवटा गुटमा बिभाजित गरेर मुलुकमा लोकतन्त्र बिरुद्धको षडयन्त्रलाई सफल पार्ने प्रयास भएको हो । वीपी,सुवर्ण,सूर्यप्रसाद,गणेशमानहरुबिच पनि गंभिर मतभेद थिए तर त्यसलाई पार्टी बिभाजनकै हदसम्म विकास हुन कहिल्यै दिएनन् । संकटको बेला जहिले पनि नेताहरु एकमत हुन्थे । नेताहरुबिच खेल्ने र एउटासँग अर्कोलाई लडाउने प्रयास अहिले चाहिँ सफल हुने सम्भावना देखिएको छ । यदि कांग्रेसभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अघि बढाउन सकिएन भने मुलुकको अस्तित्व र लोकतन्त्र दुवै गंभीर संकटमा पर्न सक्छन । पुराना परिपक्व र स्थापित नेताहरुले उत्तेजना र आवेगमा कुनै गलत निर्णय लिनु हुँदैन । त्यसैगरी अहिले जिम्मेवारीमा रहेकाहरु पनि संयमित भएर कांग्रेसलाई टुक्रनबाट बचाउनु पर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *